गण्डकी प्रदेशको विशेष अधिवेशन आज, काँग्रेसको मुख्यमन्त्रीमा दावी

वैशाख १३। गण्डकी प्रदेशसभाको विशेष अधिवेशन आजबाट शुरू हुँदैछ । विशेष अधिवेशनमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्ताव टेबुल गर्ने कार्यसूची रहेको छ । आफूविरुद्ध अविश्वासको प्रस्ताव आउने भएपछि हतारमा प्रदेशको चालु अधिवेशनको अन्त्य गरिएको थियो ।

आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले तयार पारेको कार्यसूचीअनुसार आज प्रस्तावित मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बोल्नुुहुनेछ । त्यसपछि अरु प्रदेशसभा सदस्यले बोल्न समय पाउने छन् । प्रदेशसभा सचिवालयका अनुसार अविश्वासको प्रस्तावमाथि छलफल सकिएपछि बल्ल मतदान हुनेछ ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले दिएको समावेदनका आधारमा प्रदेश प्रमुख अमिक शेरचनले विशेष अधिवेशन बोलाएका हुन् । अविश्वास प्रस्तावमा कांग्रेस संसदीय दलका नेता पोखरेललाई मुख्यमन्त्री प्रस्ताव गरिएको छ ।

अविश्वासको प्रस्तावमा २८ जनाको हस्ताक्षर छ । राष्ट्रिय जनमोर्चाले अविश्वास प्रस्तावमा हस्ताक्षर नगरे पनि पक्षमै मतदान गर्ने विश्वास विपक्षी दललाई छ ।

२७ सदस्य रहेको एमालेको साथ जनमोर्चाले छोडेपछि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ अल्पमतमा पर्नुभएको हो । ६० सदस्यीय प्रदेश सभामा बहुमत पुर्याउन ३१ मत आवश्यक पर्छ । एमालेका २७, कांग्रेसका १५, माओवादी केन्द्रका १२ सांसद छन्  । यस्तै जनमोर्चाका ३, जनता समाजवादी पार्टीका २ र स्वतन्त्र एकजना सांसद छन् ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: