मेशीनले धान रोप्दै चितवनमा

चैत ५ । लागत घटाउदै धान उत्पादन बढाउन चितवनमा आधुनिक मेशीन भित्राइएको छ । मेशीन सँगै मेशीनमा राख्ने धानको बीउ समेत उपलब्ध भएपछि एकातिर रोपार पाउन कठिन अर्कोतर्फ वीउ राख्न नभ्याएका कृषकका खेत बाँझै बस्ने समस्यालाई समेत यसले समाधान गरेको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना चितवनले यसै सिजनमा दुई वटा धान रोप्ने आधुनिक मेशीन भित्राएको हो । साना किसान सहकारी संस्था बछौली र कुमरोज सहकारीसँगको ५० प्रतिशत लागत साझेदारीमा प्रति मेशिन २० लाख ९० हजारमा २ वटा भित्राइएको हो । धान जोन लागू भएको पूर्वी चितवमा यान्त्रीकरण गर्ने लक्ष्य सहित यो पटक भित्राइएको मेशीनले अहिले चैते धान रोपिरहेको हो ।

एउटा लाइनमा दुई वटा ट्रे को बीउ भर्ने र १२ वटा ट्रेमा विउ राखेर ६ वटा लाइनमा एकै पटक रोप्ने यो मेशीन चितवनमै पहिलो पटक भित्राइएको हो । ठूला र आयातकार जग्गामा यसको प्रयोग अझ बढि प्रभावकारी हुने र एक घण्टामा १५ कठ्ठा सजिलै रोप्न सकिने छ ।
मेशीनले रत्ननगर नगरपालिका ७ का पुसना महतोको खेतमा रोपिरहेको हो । जीवनमै पहिलो पटक धान रोप्ने मेशीन देख्नुभएका पुसना आफ्नै खेतमा रोपिरहेको देख्दा दुखका दिन गएको भन्दै धान उत्पादन बढ्ने आशामा हुनुहुन्छ ।

छनिया महतोलाई खेत रोप्ने बेला खेतला पाउन कठिन भइरहेको थियो । यो पटक त बीउ समेत राख्न नभ्याउदा खेत बाँझै हुन्छकी भन्ने चिन्ता थियो । तर प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना चितवनले मेशीन भित्राएपछि त्यो दुख हटेको छ । मेशीनले धान रोप्ने मात्रै होइन सोही मेशीनले रोप्ने धानको वीउ समेत सहकारीबाटै खरिद गरेर महतो परिवारले धान रोप्नुभएको छ ।

परियोजना चितवनका सूचना अधिकृत माधव पौडेलले किसानहरुलाई बुझाउँदै यान्त्रीकरणमा जोड दिएको बताउनुहून्छ । यस पटक सामुदायिक नर्सरीमा उत्पादन गरिएको विरुवा रोपिएको र आगामी दिनमा किसानहरुलाई आफै विउ राख्न सिकाइने तयारी गरिएको छ । अहिलेको मेशीनबाट धान रोप्दा रोग किरा कम लाग्ने र उत्पादमा वृद्धि हुने उहाँको भनाई छ ।
परियोजना चितवनका कृषि इन्जिनियर सन्देश पौडेल आफैले मेशीन चलाएर किसानलाई मेशीन चलाउने विधिवारे सिकाइरहनुभएको छ । सहकारीकै अपरेटहरुलाइ चलाउन सिकाएर सीप हस्तान्तरण गर्ने उहाँको भनाई छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: