झापाको कनकाई नगरपालिकाले बनायो खुला व्यायामशाला

चैत ४। झापाको कनकाई नगरपालिकाले आफ्नै लगानीमा खुला व्यायामशाला निर्माण गरेको छ । बिहान ‘मर्निङ वाक’ गर्ने नगरवासीका लागि खुला व्यायामशालाले सुविधा थपेको छ । ‘स्वस्थ जीवन प्रवद्र्धन’ कार्यक्रमअन्तर्गत कनकाई–३ को सुरुङ्गा बजार नजिक पश्चिम बसस्टेण्डमा नगरपालिकाले सो व्यायामशाला निर्माण गरेको हो । व्यायामशालामा कुनै शुल्क तिर्नु पर्दैन । कनकाई सामुदायिक वनको चार कठ्ठा जग्गामा बाल उद्यान र खुला व्यायामशाला सञ्चालनमा ल्याइएको नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले जानकारी दिनुभयो ।

सो निर्माणमा नगरपालिकाको रु ४५ लाख र प्रदेश नं १ को सरकारको रु १२ लाख गरी कूल रु ५७ लाख खर्च भएको छ । व्यायामशालाका सामान सुरक्षित बनाउन कम्पाउड वालले घेरिएको छ । ‘रोग लाग्नुभन्दा रोकथामको उपाय गर्नु ठीक हुन्छ भन्ने मान्यताका आधारमा हामीले व्यायामशाला बनाएका हौँ’, नगरप्रमुख पोखरेलले भने, ‘बढ्दो शहरीकरणसँगै खुला ठाउँको अभाव भइरहेको बेला शारीरिक व्यायाम गर्ने स्थान छैन । निजीरूपमा व्यायामशाला निर्माण गर्न खर्चिलो हुने देखेर खुल्ला व्यायामशाला निर्माण गरेका हौँ ।’

व्यायामशालामा विभिन्न आधुनिक १२ वटा उपकरण राखिएको छ । व्यायामशाला युवादेखि बृद्धासम्मका लागि खुला गरिएको छ । झापामा स्थानीय तहले निर्माण गरेर सञ्चालनमा ल्याइएको यो पहिलो खुला व्यायामशाला हो । खानपान र जीवनशैलीमा आएको परिवर्तनले व्यक्तिमा विभिन्न प्रकारको दीर्घरोग बढिरहेको अवस्थामा स्वस्थ जीवन जिउनका लागि नियमित शारीरिक अभ्यासमा व्यायामशालाले उत्प्रेरित गर्ने दाबी गरिएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: