आजदेखि नारायणगढ मुग्लिन सडक दिउसोमा बन्द हुने

फागुन २३ । आजदेखि नारायणगढ मुग्लिन सडक दिउसो बन्द हुने भएको छ । पहिरो नियन्त्रणको काम पुरा गर्न दिउँसोको समयमा काम हुने भएकाले बन्द हुने भएको हो।

नारायणगढ मुग्लिन सडक आयोजनाका सूचना अधिकारी सविना रानाभाटका अनुसार आजदेखि आउँदो शनिबार फागुन २९ गतेसम्म यो सडक बिहान साढे १० बजेदेखि दिउँसो तीन बजेसम्म बन्द रहने छ । एम्बुलेन्स, दमकल जस्ता अत्यावश्यक सेवाका गाडी भने चल्न दिइने छ ।

कालिखोला चार किलो नजिक पहिरो नियन्त्रणको काम पुरा हुन सकेको छैन । ‘सोही ठाउँमा काम गर्न सडक बन्द गर्न लागिएको हो । भिरमा अड्केका ढुंगा, माटो र खस्ने सम्भावना भएका सबै पदार्थ झारेर सकेपछि बल्ल पहिरो नियन्त्रणको काम गर्नु पर्ने हुन्छ । गाडी खुला राखेर यो काम गर्न सम्भव हुँदैन ।

यो सडक हुँदै दिनहुँ १० हजारको हाराहारीमा गाडीहरु ओहर दोहर हुने गर्दछन् । पहिला साढे ५ मिटर चौढाइ यो सडक हाल एसियाली मापदण्ड अनुरुपको ९ देखि ११ मिटर फराकिलो दुई लेनको भएको छ । पहिरो सँगै सडक भास्सिएको दुई ठाउँमा मर्मत र १५ वटा पुल निर्माणको काम पनि सुरु भइसकेका छन् ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: