बढेको बढ्यै छ पेट्रोलियम पदार्थको मूल्य

फागुन १८ ।

गत फागुन ४ गते बढाइएको पेट्रोलियम पदार्थको मूल्य फेरि बढाइएको छ । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । सोमबार राति १२ बजेबाट लागू हुने गरी डिजेल, पेट्रोल र मट्टीतेल र हवाई इन्धनको मूल्य बढेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो । डिजेल, पेट्रोल र मटितेलमा प्रतिलिटर २ रुपैयाँ, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटरमा ५ रुपैयाँले मूल्य बढाईको निगमद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । यस्तै हवाई इन्धन बाहृयतर्फको मूल्य पनि एक किलोलिटरमा २५ अमेरिकी डलरले वृद्धि गरिएको निगमले जनाएको छ ।

नयाँ मूल्य बृद्धिपछि पेट्रोलको भाउ प्रतिलिटर ११६ रुपैयाँ र डिजेल तथा मटितेलको भाउ ९९ रुपैयाँ कायम भएको छ । यस्तै हवाई इन्धन आन्तरिकतर्फको प्रतिलिटर मूल्य ७२ रुपैयाँ पुर्याइएको छ । खाना पकाउने ग्यासको मूल्य यथावत छ ।

मूल्यवृद्धिपछि आन्तर्राष्ट्रिय उडानतर्फको प्रति किलोलिटर मूल्य अमेरिकी डलर ८९३ पुगेको निगमले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजार कच्चा तेलको मूल्यमा भएको बृद्धिका कारण भारतीय आयल कर्पोरेसनबाट बढेर मूल्य प्राप्त भएको निगमले जनाएको छ ।

मूल्य समायोजन पछि निगमलाई पेट्रोलमा प्रतिलिटर ८।४२ पैसा, डिजेलमा प्रतिलिटर ६।५६ तथा एलपी ग्याँसमा प्रति सिलिन्डर ३९२।८२ पैसा घाटा रहेको निगमले बताएको छ । अहिले पनि अर्धमासिक रूपमा करिब एक अर्ब ३२ करोड घाटा नै रहने निगमले जनाएको छ ।

हालको मूल्य समायोजन पछि पनि भारतीय सीमा रक्सौलमा भन्दा वीरगञ्ज क्षेत्रमा पेट्रोल ३५। ९३ पैसा र डिजेल प्रतिलिटर ४२।०७ पैसा नेपालतर्फ सस्तो रहेको निगमले जनाएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: