ज्येष्ठ नागरिक तथा अशक्तलाई घरमै पुगेर कोरोनाविरुद्धको खोप लगाइने

फागुन १७ । सरकारले आउँदो आइतवारदेखि ५५ वर्ष माथिका नागरिक दीर्घरोगी र वैदेशिक रोजगारबाट नेपाल फर्केका व्यक्तिलगायतका लागि खोप अभियान सुरु गर्न लागेको छ । उक्त अभियानमा ज्येष्ठ नागरिक तथा अशक्तहरुलाई घरमै पुगेर खोप लगाइने भएको छ । स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालले खोप केन्द्रमा आउन असमर्थका लागि स्थानीय मोबाइल टोली खटाएर घरमै पुगेर लगाउने तयारी भएको बताउनुभयो । त्यसअघि सरकारले सङ्घीय संसदका सांसदहरुलाई खोप दिने तयारी गरेको छ ।

यसअघि सरकारले पहिलो प्राथमिकतामा परेकालाई खोप लगाइसकेको छ ।पहिलो प्राथमिकता प्राप्त समूहको पहिलो चरणमा पाँच लाख सात हजार ६०६ लाई लक्ष्य गरिएकामा चार लाख २९ हजार ७०५ अर्थात् ८४ दशमलव ६५ प्रतिशले खोप लगाएका मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म नेपालका लगाइएका खोपबाट एक हजार ९११ लाई मात्रै सामान्य प्रकारको असर देखिएको छ । ती असरमा सुई लगाएको भागमा दुख्ने, सुन्निने, गाँठो पर्ने, टाउको दुख्ने, जिउ र जोर्नीहरु दुख्ने, रुघाखोकी लाग्दा फ्लु जस्ता चिह्न तथा लक्षण देखिने, मध्यम ज्वरो आउने, वाकवाक लाग्ने जस्ता सामान्य समस्या देखिएका थिए ।

ती समस्या केही दिनमा आफैँ ठिक भएका छन। यसैबीच सरकारले थप ५० लाख डोज खोप खरिद गर्ने तयारी गरेको छ । गएको माघ ८ गते भारतले १० लाख डोज खोप अनुदानस्वरुप नेपाललाई उपलब्ध गराएको थियो भने सरकारले २० लाख डोज खोप खरिद गरी १० लाख डोज नेपाल ल्याइसकेको छ ।

बाँकी रहेको १० लाख डोज खोप पनि आउने क्रममा रहेको मन्त्रालयले जनाएको छ । कुल जनसङ्ख्याको २० प्रतिशतलाई खोप लगाइसकेपछि सरकारले निजी क्षेत्रलाई पनि तोकिएको मूल्य र संस्थाबाट लगाउने गरी आयात गर्न अनुमति दिने तयारी गरेको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: