यस्तो तालिका सहित ओली समूहको आज जनसभा

माघ २३। हिजोमात्रै आमहड्ताल गरेको दाहाल नेपाल समूहलाई काउण्टर दिने गरी आज ओली समुहले जनसभा गर्दैछ । आज नारायणहिटी राजदरबार अगाडि जनसभा आयोजना गर्दै छ। जनसभामा काठमाडौँ उपत्यका सहित बागमती प्रदेशका १३ वटै जिल्लाबाट कार्यकर्ताहरु र समर्थकहरु सहभागी हुने बताइएको छ ।

‘अराजकताको अन्त्य, भौगोलिक अखण्डता एवं संविधानको रक्षा गर्दै विकास र समृद्धिमार्फत राजनीतिक स्थायित्वका लागि ताजा जनादेश’ भन्ने नाराका साथ यस समूहले जनसभा गर्न लागेको हो । नेकपा बागमती प्रदेश सङ्गठन कमिटीका अध्यक्ष आनन्दप्रसाद पोखरेलले प्रतिनिधिसभा विघटन भइ निर्वाचन घोषणा गरिएको नयाँ परिस्थितिमा आम जनसमुदायमा पार्टीको सन्देश दिन सभा आयोजना गरेको जानकारी दिनुभयो ।
सभा आयोजना एवं परिचालन गर्न पार्टीका काठमाडौँ उपत्यका संयोजक कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमा १ हजार १११ सदस्यीय जनसभा परिचालन कमिटी पनि गठन गरिएको जानकारी दिनुभयो ।

सभाको पूर्व तयारी सबै सकिएको बताइएको छ । सभाबारे प्रचारका लागि बिहीबार साँझ काठमाडौंमा महेश बस्नेत नेतृत्वको स्वयंसेवक परिचालन कमिटीले वाल्मीकी कलेजबाट मार्चपास समेत गरेको थियो । यसअघि प्रधानमन्त्री केपी ओलीको समर्थनमा बुधबार काठमाडौँमा मोटरसाइकल र्‍याली निकालिएको थियो । आजको जनसभाका लागि काठमाडौँ उपत्यकाका त्रिपुरेश्वर, गौशाला, माइतीघर, पुतलीसडक, लैनचौर, सोह्रखुट्टे, बागबजार, प्रदर्शनी मार्ग, घण्टाघर, न्यूरोड, टेकु, बसन्तपुर, ज्ञानेश्वर, पुरानो बानेश्वर लगायतका स्थानबाट र्‍याली निकालिने जनाइएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: