सिटी हल र ६ लेन सडक महानगरलाई थाहै नदिई शिलान्यास गरिनु दुःखद : मेयर दाहाल

चितवन, माघ १७ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सिटी हल र ६ लेन पूलचोक गोन्द्राङ सडक महानगरलाइ थाहै नदिई शिलान्यास गरिनु दुःखद भएको बताउनुभएको छ ।
चितवनमा आज आयोजित कुँवर समाज नेपाल चितवन शाखाद्वारा निर्मित राष्ट्रिय विभूति बलभद्र कुँवरको पूर्ण कदको सालिक अनावरण समारोहलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । हिजो मात्रै महानगमै पत्रकारसम्मेलन गरी शिलान्यास कार्यक्रमको विरोध जनाइएको थियो ।
आज प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्नुभएको कार्यक्रममा मेयर दाहाल उपस्थित हुनुभएन । उहाँले निर्माण सुरु भइसकेको आयोजनाको शिलान्यास गर्नुको औचित्य नरहेको प्रष्ट पार्नुभयो ।

भरतपुर महानगरपालिका दिगो र आत्मनिर्भर विकासको गतिका साथ अगाडि बढिरहेको बताउँदै उनले संघीयताको खिल्ली उडाउँदै केन्द्रीकृत शासन लादेर आज भरतपुर महानगरपालिकाको गौरवका आयोजना सिटी हल र ६ लेन पूलचोक गोन्द्राङ सडक महानगरलाइ थाहै नदिई शिलान्यास गरिनु दुःखद भएको उहाँको भनाई थियो । । एक दिन सुटुक्क आएर ढुंगा पूजा गर्दैमा सिटी हल र ६ लेन सडक निर्माण नहुने बताउँदै भरतपुर महानगरको परिकल्पना र स्वामित्वमा तीन वर्ष लामो गृहकार्यपछि सिटी हल निर्माणको कामले गति लिएको बताउनुभयो ।

मेयर दाहालले हाल मुलुकको समृद्धि र विकासका साथै पूर्खाहरुले बलिदानीपूर्ण संघर्षबाट आर्जन गरेको व्यवस्थामाथि धावा बोलिएको बताउँदै समाज र व्यवस्थामाथि अपमान गर्ने त्यस्ता सन्की शासकले क्षमा पाउनै नसक्ने बताउनुभयो । राजनीतिक दाउपेचका आधारमा विकास निर्माणलाई लिनु गलत भएको भन्दै मेयर दाहालले विकास त लामो प्रयास र निरन्तरताले मात्र सम्भव हुने बताउनुभयो ।

भरतपुरको आँपटारीमा रहेको जलदेवी सामुदायिक वन परिसरमा २० लाख रुपैयाँको लागतमा आकर्षक पूर्णकदको सालिक निर्माण गरिएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: