माघ १७ प्रधानमन्त्री ओली चितवन आउने, बन्दै गरेको सिटीहल र ६ लेन सडकको शिलान्यास गर्ने

माघ ११ । आगामी माघ १७ गते प्रधानमन्त्री ओली चितवन आउनुहुने भएको छ । भरतपुरमा निर्माण भइरहेको अन्तर्राष्ट्रिय स्तरको सिटीहल र पुलचोक गोन्द्राङ ६ लेन सडकको शिलान्यास गर्न ओली आगामी माघ १७ गते शनिबार चितवन आउने नेकपा पार्टीले जानकारी दिएको छ। दुबै राष्ट्रिय गौरबका आयोजना संघीय सरकारको बजेटबाट निर्माण हुन लागेका हुन् ।


साथै वर्तमान राजनीतिक परिस्थिति, नेपाल सरकार र नेकपाको आगामी योजनालगायतका समसामयिक विषयमा पनि ओलीले सम्बोधन गर्ने र सभाको आयोजना हुने भएको हो ।
भरतपुर–१० स्थित जिल्ला समन्वय समितिको कार्यालय पछाडि ४ बिघा ४ कठ्ठा जग्गामा धमाधम सिटी हल निर्माण भइरहेको छ ।२७ महिनामा निर्माण सम्पन्न गर्नेगरी संघीय सरकारको ८७ करोड ८८ लाख ८८ हजार ८८८ रुपैयाँ लागतमा ठेकेदार कम्पनी इण्डो–सगुन–रौताहा जेभीसँग सम्झौता भईसकेको छ । ६ हजार ५०० वर्गमिटर सिटी हलले ओगट्छ । सिटी हलको उचाइ २५ मिटरको हुनेछ ।

सिटी हल दुई हजार मानिस अट्ने क्षमताको रहन्छ । छेउछाउँमा पनि २०० जना अट्ने क्षमताको हल बन्नेछ । यस्तै पार्किङको व्यवस्था र सौन्दर्यताको लागि फाउन्टेन पनि निर्माण गरिनेछ ।

पुल्चोकदेखि गोन्द्राङसम्मको ६ लेनको सडकमा पनि काम भइरहेको छ । हाल दुई लेन रहेको ६ किलोमिटर सडकखण्डलाई ६ लेन बनाउन लागिएको हो ।

सडक डिभिजन भरतपुर कार्यालयका अनुसार सबैभन्दा कम आर्थिक प्रस्तावका आधारमा सडक निर्माणको जिम्मा इण्डो सगुन जेभीले पाएको हो । १६ कम्पनीमध्ये कम आर्थिक प्रस्तावका आधारमा निर्माण कम्पनी छनोट भएको र दुई अर्बको लागतमा सडक विस्तार हुनेछ ।

सडक सीमा ५० मिटरको चौडाइँलाई प्रयोग गरेर सडक निर्माण गरिनेछ । नारायणगढ–बुटवल सडक खण्डकै आधारमा यो सडक निर्माण गरिनेछ । सडकको दुबैतर्फ फुटपाथ, ढल, सर्भिस लेन छुट्याइएको छ । यस्तै छुट्टै बोलपत्रमार्फत भरतपुर महानगरपालिकाले सडकको दुवैतर्फ स्मार्ट लाइट जडानको तयारी गरेको छ । सडकखण्डमा विद्युत् अण्डरग्राउण्ड गर्ने तयारी नेपाल विद्युत् प्राधिकरणले गरिरहेको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: