स्वर्गीय पत्रकार बस्यालको स्मृतिमा २० हजार राशीको पत्रकारिता पुरस्कारको घोषणा

माघ ४, गैँडाकोट । देशैभर क्रियाशील पत्रकारलाई क्यान्सरसम्बन्धी चेतना जगाउन र हिंसाविरुद्ध कलम चलाउनेलाई अझै उत्साह थप्न ‘राधा क्यान्सर सचेतना तथा हिंसाविरुद्धको पत्रकारिता पुरस्कार’ को घोषणा गरिएको छ ।

प्रस्ताबित राधा क्यान्सर सचेतना फाउण्डेसनका अध्यक्ष प्रकाश बस्यालका अनुसार स्वर्गीय पत्रकार एवम क्यान्सर रोग विरुद्ध सचेतना फैलाउने अभियन्ता राधा बस्यालको स्मृतिमा उक्त पुरस्कार प्रदान गरिने भएको हो ।

राधा क्यान्सर फाउन्डेसनको मातहत परिवारको तर्फबाट २ लाख राशीको राधा स्मृति अक्षयकोष स्थापना गरिने र अक्षयकोषको रकमबाट वार्षिक हुन आउने ब्याज रकम सहित हरेक वर्ष रु २० हजार रुपयाँको ‘राधा क्यान्सर सचेतना तथा हिंसाविरुद्धको पत्रकारिता पुरस्कार’ अर्पण गर्ने अध्यक्ष प्रकाशको भनाई रहेको छ । कावासोती –२ सिमलघारीमा कार्यालय रहने फाउण्डेशनले राधा जन्मिएको फागुन ९ को दिन उक्त पुरस्कार प्रदान गरिरहने छ ।

पत्रकार एवम अभियान्ता राधाको पारिवारीक हिँसा सहित क्यान्सरसँग लड्दालड्दै गत कार्तिक १४ गते निधन भएको थियो । समाजमा चेतनाको विगुल फुक्ने उद्देश्यले पत्रकार राधाले खोलेको राधा क्यान्सर सचेतना फाउन्डेसन अब परिवारको जिम्मामा आएको र फाउन्डेसनले आगामी दिनमा राधाकै उद्देश्य र लक्ष्य अनुसार क्यान्सरका बारेमा चेतना जगाउने र हिंसाका विरुद्धमा आवाज उठाउने भएको हो ।

राधाकै जन्मजयन्तीको अवसरमा क्यान्सर सचेतना र हिंसाविरुद्ध कलम चलाउने पत्रकारलाई सम्मान गर्ने निर्णय गरिएको हो । २०४८ साल फागुन ९ गते आमा खीना शर्मा र बुवा शुभराज शर्मा बस्यालको कोखबाट जन्म लिनुभएका वस्याल निरन्तर नवलपुरको कावासोतीमा रहेर पत्रकारितामा सक्रिय रहनुभएको थियो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: