आज सातै प्रदेशमा प्रधानमन्त्री ओली पक्षका कार्यकर्ता भेला हुँदै

पौष ८ । फुटको सम्मुखमा रहेको सत्तारुढ दल नेकपाका दुई गुट मध्य आज प्रधानमन्त्री एवम अध्यक्ष केपी शर्मा ओली पक्षका नेता कार्यकर्ताको भेला सात वटै प्रदेशमा हुने भएको छ ।
हिजो सम्पन्न केन्द्रीय कमिटी बैठकले ५५६ जना नयाँ केन्द्रीय सस्दय मनोनित गरेको भोलिपल्ट आज सात वटै प्रदेशमा भेला हुने भएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको पार्टी केन्द्रीय कमिटीले बुधबार सातै प्रदेशमा भेला गर्ने निर्णय गरेको थियो।
दुईदिन भित्र सम्पन्न गरिने भेलामा पछिल्लो राजनीतिक घटनाक्रमबारे प्रदेशगत प्रशिक्षण दिने कार्यक्रम समेत नेकपाले तय गरेको छ। भेलाका लागि समन्वय गर्न र मुख्य वक्ता तोक्न प्रदेश १ मा मात्र बाँकी छ। अरू प्रदेशमा प्रतिनिधि तोकि सकिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार तथा केन्द्रीय सदस्य सूर्य थापाले जानकारी दिनुभयो।

बागमती प्रदेशअन्तर्गत आज काठमाडौंमा प्रदेश कमिटीको दुई दिने प्रशिक्षण भेला आयोजना गरेको छ। सो भेलामा पार्टीका नेता तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले मुख्य वक्ताका रुपमा सम्बोधन गर्नेछन्।

प्रदेशगत प्रशिक्षण कार्यक्रमका लागि मुख्य वक्ताका रुपमा सुदूरपश्चिममा लेखराज भट्ट, कर्णाली प्रदेशमा शंकर पोखरेल, लुम्बिनीमा टोपबहादुर रायमाझी, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ र टोपबहादुर रायमाझी तथा प्रदेश २ मा शंकर पोखरेल र सत्यनारायण मण्डललगायत नेता तोकिएका छन्।

मंगलबार बसेको बैठकले ०७८ मंसिर २ गतेदेखि ७ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको छ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: