सगरमाथाको उचाइ बढ्यो, सार्वजनिक गर्न सरकारको स्वीकृति

मंसिर ११ । सरकारले सगरमाथाको नयाँ उचाई घोषणा गर्न स्विकृति प्रदान गरेको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले सगरमाथाको नयाँ उचाई घोषणा गर्न भूमि व्यवस्था सहकारी तथा गरिबी निबारण मन्त्रालयलाई स्विकृति दिएको हो ।

तर सगरमाथाको उचाइ कति छ भन्ने मन्त्रीहरुलाई समेत जानकारी दिइएको छैन । तर स्रोतका अनुसार सागरमाथाको उचाई बढेको छ । नेपाल र चीनले संयुक्त रुपमा सगरमाथाको उचाई घोषणा गर्ने पूर्व सहमति भएकाले अहिले सार्वजनिक नगरिएको हो ।

अधिकारीहरुका अनुसार चिनियाँ रक्षामन्त्रीको आसन्न नेपाल भ्रमणका क्रममा यसबारे घोषणा हुनसक्छ । मन्त्रालयले पनि केहीदिनमै औपचारिक कार्यक्रममार्फत सगरमाथाको नयाँ उचाइ घोषणा गर्ने बताएको छ ।

सन् २०१५ मा गएको विनाशकारी भूकम्पका कारण हिमाली भेगको उचाईमा असर परेको तथ्य नापी विभागको अध्ययनले देखाएको थियो । यही कारणले सगरमाथाको उचाइ पनि थपघट भएको हुनसक्ने अनुमानका आधारमा नेपालले पहिलोपटक आफ्नै स्रोत साधनमा सगरमाथाको उचाइ मापन गरेको हो । यसमा नेपाल र चीनका सरकारी टोलीले संयुक्तरुपमा काम गरेका थिए ।

पछिल्लो पटक सर्वे अफ इण्डियाले सन् १९५४ मा मापन गरी उचाई कायम गरिएको विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाई ८८४८ कायम रही आएकोमा थोरै फेरबदल आएको स्रोतले बतायो । सगरमाथाको उचाई मापन कार्य आर्थिक वर्ष ०७५÷०७६ मा शुरु भएको थियो । सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका क्रममा सगरमाथाको उचाई संयुक्तरुपमा घोषणा गर्ने सहमति भएको थियो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: