उदाउँदै गरेको सूर्यलाई अर्घ दिएसँगै छठ सकियो

मंसिर ६ । पूर्व क्षितिजबाट उदाउँदै गरेको सूर्यलाई अर्घ दिएपछि चारदिने छठ पर्व सकिएको छ । हिजो साँझ अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिएका ब्रतालुहरुले रातभर ब्रत वसी आज बिहान उदाउँदै गरेको सूर्यलाई अर्घ दिएका हुन् । यससँगै सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने तराईमधेसवासीको महान चाड छठको उल्लास सकिएको छ । यस पटक भने तराईवासी मात्रै नभई अन्य पहाडीहरुले पनि छठ मनाएका छन् । भाकल गरेको पुरा गरिदिने विश्वासका साथ छठी माईको पुजा गरिएको उनीहरुले बताए ।

कोरोना महामारीका कारण विगतको जस्तै रौनकता नरहेपनि पर्वको मर्मलाई कायमै राखेर पर्व मनाइएको छ । भौतिक दुरी मुखमा मास्क लगाएर पर्व मनाउनेहरु थिए । विशेष नियम र निष्ठासाथ मनाइने छठ पर्वका लागि नदी, पोखरी तथा जलाशयहरु सिँगारेर झकिझकाउ पार्ने गरिएको थियो ।
चितवनको नारायणी नदी किनारमा पनि भक्तजनहरुको भीड लागेको थियो । कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै स्थानीय प्रशासन र स्थानीय सरकारले छठघाटमा भिडभाड नगर्न आग्रह गरेको थियो । विशेषगरी सहर बजारका धेरै ब्रतालुहरुले घरको छतमै कृत्रिम पोखरी बनाएर पूजा अर्चना गरेका थिए ।

छठघाटमा मास्क निःशुल्क वितरण गरिएको भएपनि अधिकांशले मास्क नलगाएको पाइएको छ ।  कात्तिक शुक्ल षष्ठी र सप्तमीका दिन सूर्यलाई विशेष विधिपूर्वक अर्घ दिएर छठ पर्व मनाइन्छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: