बाढी पहिरोका कारण कुइनेमंगलेबासीको जनजिवन अस्तव्यस्त

बेनी, ७ भदौ । म्याग्दीको रघुगंगा गाउपालिका–८ कुइनेमंगलेमा बाढी र पहिरोका कारण जनजिवन अस्तब्यस्त भएको छ । पहिरोले घर भत्काउने, पुर्नुे र विस्थापित बनाउनुका साथै बाढीले झोलुङ्गे पुल बगाएपछि आवत जावतमा समस्या भएको छ ।

रघुगंगा नदीमा आएको बाढीले कुइनेमंगलेको विभिन्न चार ठाउँमा झोलुङ्गे पुल बगाएको छ । बाढीले कटान गरेर पुल भत्काउने र बगाएकाले एक गाउँदेखि अर्को गाउँमा आवत जावतमा समस्या भएको स्थानीय याम घर्तिमिरेले जानकारी दिनुभयो ।

“खाद्यान्न ढुवानी, बिरामी स्वास्थ्य संस्थामा जान र काम विशेषले छिमेकी गाउमा जान पाइएको छैन,” उहाँले भन्नुभयो “खोलामा जंघार तरेर अथवा घुमाउरो बाटो हिड्नुपर्ने भएकाले जनजिवन कष्टकर भएको छ ।”

दुवाडी र ढाड जोड्ने बन्दीघाटको ७८ मिटर र खरिबोट स्थित ११८ मिटर लामो झोलुङ्गे पुल बाढीले बगाएको कुइनेमंगलेका वडा अध्यक्ष गमान छन्त्यालले जानकारी दिनुभयो । “एकरातेको ६० मिटर लामो भाकर झोलुङ्गेपुल र छहरी स्थित ७८ मिटर लामो झोलुङ्गे पुलको एकातर्फको भाग भत्कने अवस्थामा पुगेको छ,” उहाँले भन्नुभयो “दुवाडी, घ्याँसीखर्क, पात्लेखर्क, चौरखानी, खरिबोट लगायत बस्तिका दुई सय बढी घरधुरीलाई आवत जावतमा समस्या भएको छ ।”

२०७७ को साउन महिना यता विभिन्न समयमा रघुगंगा नदीमा आएको बाढीले पुल बगाएको हो । बगाएको सबै पुल रघुगंगा नदी माथिका हुन् । सबै पुलको दायाँ तर्फको भागमा कटान गरेर बगाएको छ । कुइनेमंगले म्याग्दीको भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने गाउँ हो ।

यसैगरी पहिरोले कुइनेमंगलेको विभिन्न बस्तिमा पाँच वटा घर पुरिएका र २१ घर विस्थापित भएका छन् । दुवाडीमा २ वटा, पात्लेखर्कमा १ वटा घर पुरिएका तथा छहरीमा २ वटा घर रघुगंगा नदीले कटान गरेर बगाएको वडा अध्यक्ष छन्त्यालले बताउनुभयो ।

चौरखानीमा १ वटा समुदायिक भवन, १० वटा घर र दुवाडीमा १० वटा घरमा क्षति पुगेको छ । पहिरोका कारण जमिन धाँजा फाटेर चिरा पर्न थालेपछि स्थानीयले घर छाडेका छन् । चौरखानीका चन्द्रबहादुर छन्त्याल, दलबहादुर बिक, नरप्रसाद छन्त्याल, थमबहादुर छन्त्याल, उत्तम छन्त्याल, रेमान छन्त्याल, रामप्रसाद छन्त्याल, गमबहादुर छन्त्याल हर्क छन्त्याल र नरमान छन्त्यालको घरमा क्षति पुगेर विस्थापित भएका छन् ।

रु. १४ लाख खर्चेर दुई वर्षअघि चौरखानीमा निर्माण गरिएको सामुदायिक भवन समेत पहिरोका कारण चिरा परेर भत्किएको छ । ५२ घर भएको चौरखानीमा हाल ३७ परिवारको बसोबास छ । पहिरो नियन्त्रणको प्रयास सफल नभएपछि राष्ट्रिय पुननिर्माण प्राधिकरणले चौरखानीका बासिन्दालाई अन्यत्र स्थानान्तरण गराउनुपर्ने बस्तिको सूचिमा राखेको छ ।

जग्गा पहिचान हुन नसक्दा बस्ति स्थानान्तरणको योजना कार्यान्वयन हुन सकेको छैन् । भूवर्ग विद्को टोलीले अध्ययन गरेर बस्ति सार्न सुझाव दिएका थिए । यसैगरी घ्याँसीखर्क हुदै चौरखानी जोड्ने पदमार्ग समेत पहिरोले भत्काएको छ । रघुगंगा गाउपालिकाले गत आर्थिक वर्षमा रु. १३ लाख खर्चेर ढुङ्गाको सिढी चिनेर चौरखानी पुग्ने पदमार्ग बनाएको थियो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: