लागत घटाउन र उत्पादन बढाउन “सेमि हाइटेक” प्रबिधि

बेनी, ५ भदौ ः पछिल्लो समयमा म्याग्दीको तरकारी खेतीमा आधुनिक प्रविधिको प्रयोग बढेको छ । खेति गर्न सहज, रोगकिराबाट बचाउन र उत्पादन बढाउन सकिने भएपछि ब्यवसायिक कृषकहरुले सेमि हाइटेक प्रबिधि अपनाएका हुन् ।

खुल्ला आकाशमुनी र परम्परागत टनेलभित्र तरकारी खेति गर्दै आएका कृषकहरु पछिल्लो समय चारैतिर जालीले घेरिएको स्थायी पलास्टिक घर (सेमि हाइटेक र हाइटेक) प्रबिधिको टनेलमा तरकारी उत्पादन गर्ने प्रबिधिप्रति आकर्षित भएका हुन् ।

बिरुवाको जराजरामा पाइप मार्फत सिचाई र खाद्यतत्व आपुर्ति गर्ने सुबिधा हुने सेमि हाइटेक प्रबिधिको टनेललाई जालीले बेरिएकाले किरा छिर्न पाउदैन् । यस्तो प्रबिधिबाट समयको बचत, लागत घटाउन, रोगकिराबाट बचाउन र गुणस्तरीय तरकारी उत्पादन बढाउन सकिने बेनी नगरपालिका–२ रोहोटेका कृषक चन्द्रबहादुर घिमिरेले बताउनुभयो ।

“साधारण टनेलमा चालीस हजारको गोलभेडा उत्पादन हुन्थ्यो,” उहाले भन्नुभयो “झार उम्रने समस्या नभएपछि गोडमेल गर्न परेन् । सिचाईका लागि लाग्ने समय पनि बचत हुन्छ ।” घिमिरेले पाँच लाखको लागतमा तीन वटा सेमि हाइटेक टनेल बनाएर तरकारी खेति गर्नुभएको छ । कृषि ज्ञान केन्द्र म्याग्दीले साना ब्यवसायिक मोडेल फार्म कार्यक्रम मार्फत दुई लाख पचास हजार रुपैयाँ अनुदान दिएको थियो ।

पाँच रोपनी जमिनमा तरकारी खेती गर्नुभएका घिमिरेले दुई वटा परम्परागत र खुल्ला जमिनमा पनि खेती गर्नुभएको छ । वैदेशिक रोजगारीबाट फर्केपछि वि.स २०७२ मा रोहोटे अमृता ब्यवसायिक कृषि तथा पशुपंक्षी फार्म स्थापना गरेका कार्कीले तरकारी खेतिबाट रोजगारी र आयआर्जनको अवसर मिलेको बताउनुभयो ।

उहाँलाई श्रीमति अमृताले पनि तरकारी खेतिमा साथ दिनुभएको छ । दुई जना छोराछोरी पढाउन र घरखर्च चलाउन तरकारी खेतिको आम्दानीले पुगेको बताउनुभयो । वार्षिक डेढ दुई लाख रुपैयाँ बचत समेत हुने गरेको कार्कीले बताउनुभयो । उहाले उत्पादन गरेको तरकारी सदरमुकाम बेनी बजारमा बिक्री हुने गरेको छ ।

गोलभेडा, काँक्रो, घिरौला, सिमि, करेला, साग, भण्टा, काउली, बन्दा, खुर्सानी लगायतका तरकारी बेसिजनमा उत्पादन गर्नका लागि समेत हाइटेक प्रबिधिको टनेल उपयोगी मानिएको बेनी नगरपालिका–२ खबराका कृषक सोबित शर्माले बताउनभयो ।

“क्षेत्रफल अनुसार लागत पर्ने हाइटेक टनेलभित्र पाँच वर्षसम्म खेति गर्न सकिन्छ,” उहाले भन्नुभयो “चिसो हावापानी हुने लेकाली क्षेत्रमा सेमि हाइटेक प्रबिधिबाट तरकारी उत्पादन गर्न थालेका छन् ।”

सडक सुबिधा विस्तारसँगै बजारमा पहुँच भएपछि रोजगारि सिर्जनाको साथै छोटो समयमा आम्दानी गर्न सकिने भएकाले पछिल्लो समय म्याग्दीका कृषकहरु ब्यवसायिक तरकारी खेतिप्रति आकर्षित भएका छन् । म्याग्दीमा करिब दुई सय ब्यवसायिक तरकारी खेति गर्ने कृषक भएको अनुमान छ ।

कृषि ज्ञान केन्द्रको साना ब्यवसायिक मोडेल फार्म र प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले कृषकहरुलाई नयाँ प्रबिधि भित्र्याउन प्राबिधिकका साथै अनुदान दिएका छन् । गत आर्थिक वर्ष २०७६÷०७७ मा म्याग्दी र मुस्ताङ जिल्लामा २० वटा तरकारी र फलफुल फर्मलाई रु. पचास लाख रुपैयाँ अनुदान दिएको कृषि ज्ञान केन्द्र म्याग्दीका कृषि प्रसार अधिकृत गोविन्द पाण्डेले बताउनुभयो ।

“पचास प्रतिशत कृषक र पचास प्रतिशत कार्यालयको लगानीमा मोडेल फार्म स्थापना भएको हो,” उहाले भन्नुभयो “हाइटेल टनेल स्थापना, भकारो सुधार, थोपा सिचाई, पोखरी बनाउन र हाते ट्याक्टर खरिद गरेका छन् ।”

लहरेबालीका लागि स्थायी प्रकृतीको झाल बनाइएको टनेलभित्र लगाइएको प्रत्येक बिरुवाको जरामा थोपा प्रबिधिबाट सिचाई गर्न सकिन्छ । टनेलभित्र बेमौसमी तरकारी खेती गरेर बढी मूल्य पार्न सकिनुका साथै रोग कम लाग्ने, उत्पादन गुणस्तरीय हुने र श्रमशक्तिको बचत भएको छ । खुल्ला ठाउँको तुलनामा हाइटेक टनेलभित्र खेती गर्दा दोब्बर बढी उत्पादन र आम्दानी लिन सकिने कृषकको अनुभव छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: