कमाण्ड पोष्टको अब्यवहारिक निर्णयले नागरिकलाई सास्ति

बेनी, ३ भदौ । फरक जिल्ला भएपनि पर्वतको जलजला गाउपालिकाको मल्लाज क्षेत्रका बासिन्दाको म्याग्दी बेनीसँगको सामाजिक, ब्यापारिक, प्रशासनिक र भौगोलिक निकटता तथा ब्यवहारिक पक्षलाई नजर अन्दाज गरेर सिमानामा गरिएको अन्तर जिल्लाको आवत जावतको कडाइले सर्वसाधारणलाई सास्ति भएको छ ।

विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना (भाइरस) छिमेकी जिल्लामा समुदाय स्तरमा देखिन थालेपछि रोकथामका लागि आवत जावतलाई ब्यवस्थित बनाउन बुधबारदेखि कालीपुल बाहेक अन्य स्थानबाट पैदल तथा सवारी मार्फत हुने प्रवेशलाई पूर्ण रुपमा बन्द गरिएको छ ।

अत्यावश्यक कामको लागि म्याग्दी जिल्ला प्रवेश गर्नुपरेमा बिहान ७ देखि साँझ ७ बजेसम्म कालीपुलबाट अनुमति लिएर मात्र प्रवेश गर्न र म्याग्दी प्रवेश गरेपछि तोकिएको होल्डिंग सेन्टरमा बस्न, फारम भर्न, आवश्यक परामर्श लिई स्थानीय तहको जिम्मेवारीमा होम क्वारेन्टाइनमा बस्न लगाइने जिल्ला संकट ब्यवस्थापन केन्द्रको निर्णयले मल्लाज र वारीबेनी आवत जावत गर्नेहरुलाई सास्ति भएको हो ।

म्याग्दी बेनी घर भई पर्वत बेनीमा ब्यवसाय गर्नुहुने हरि भण्डारीले नयाँ निर्णयसँगै आवत जावतमा दुख भएकाले यसलाई सच्चाउनुपर्ने बताउनुभयो । यसअघि पर्वतको प्रशासन र सुरक्षा निकायसँग समन्वय गरेर पर्वत बेनीको डाडामा चेकपोष्ट राखेमा जिल्लालाई सुरक्षित पनि राख्न सकिने र सर्वसाधारणलाई पनि सास्ति नहुने बताउनुभयो ।

मल्लाज र पर्वत बेनीका बासिन्दा, ब्यवसायी, कृषक, कर्मचारीहरुका लागि परिचयपत्र अथवा अन्य काजगातका आधारमा आवत जावत गर्न दिनुपर्ने विकल्प पनि छ । बेजिल्ला भएपनि जलजला गाउपालिकाको वडा न. १, २, ३, ४, ५, ६ र ७ मा पर्ने बाँसखर्क, मल्लाज, लेकफाँट, शालीजा र धाइरीङका बासिन्दा दैनिक उपभोग्य सामानको किनमेल, बैंक वित्तिय कारोबार, औषधी उपचारका लागि म्याग्दीको बेनीमा निर्भर छन् ।

म्याग्दी बेनीमा दूध, तरकारी, फलफुल लगायत कृषि तथा पशुजन्य बस्तुको आयात जलजला गाउपालिकाबाट हुन्छ । जलजलाका बासिन्दा बिरामी पर्दा उपचारका लागि म्याग्दीमा रहेको बेनी अस्पतालमा जान्छन् । म्याग्दीका ब्यापारीको गोदाम पर्वत बेनीमा छन् । पर्वत बेनीका ब्यापारीको बजार म्याग्दीमा पनि छ ।

म्याग्दी बेनीका कार्यालय, सुरक्षा निकाय र स्वास्थ्य संस्थामा काम गर्ने, पसल सञ्चालन गर्नेहरुको डेरा पर्वत बेनीमा छ । स्थानीयबासीहरुको सहजताका लागि पर्वत प्रशासन, प्रहरी र गाउपालिकासंग समन्वय गरेर वारीबेनी र पारीबेनीको आवत जावतलाई यसअघिको लकडाउनको अवस्थामा खुकुलो बनाइएको थियो ।
वारीबेनी देखि म्याग्दी बेनी जोड्ने एक वटा मोटरेबल पुल, दुई वटा झोलुङ्गे छन् । कालीपुल देखि बगरफाँट जोड्ने अर्को झोलुङ्गे पुल छ । समुदाय स्तरमा कोरोना देखिएको बागलुङको सिमानामा पर्ने बेनी नगरपालिकाको १ नम्बर वडा रत्नेचौरमा आवत जावत खुल्ला छ ।

रत्नेचौर, मालिका, बेलढुङ्गा, किमचौर, ताराखोला, तमानखोला र ढोरपाटनको जलजला हुदै म्याग्दी भित्र्ने नाका छन् । लकडाउनको समयमा ति नाकामा स्वमसेवक र सुरक्षाकर्मी परिचालन गरेर आवत जावत गर्न रोक लगाइएको थियो । पर्वत बेनी र मल्लाज क्षेत्रका बासिन्दालाई अत्यावश्यक कामका लागि म्याग्दी बेनीमा हुने आवत जावतलाई सहज बनाउन सकारात्मक रहेको प्रहरी नायव उपरिक्षक किरनजंग कुँवरले बताउनुभयो ।

म्याग्दीका ४८ जना कोरोना संक्रमित निको भएर घर गएका छन् । शुक्रबारदेखि म्याग्दीमा सक्रिय कोरोनाका संक्रमितको संख्या शुन्य छ । समुदाय स्तरमा अहिलेसम्म कोरोना भेटिएको छैन् । विदेशबाट आएकालाई क्वारेन्टिनमा राखेर पिसिआर परिक्षण गरेर घर पठाउने ब्यवस्था गरिदै आएको छ । जोखिमयुक्त जिल्लाबाट आउनेलाई पनि क्वारेन्टिनमा राख्न थालिएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: