आरति आचार्य
हातमा न्यायीक तराजु बोकेर ,
न्यायलयको ढोकामै ठिङ्ग उभिएका ,
मेरा बराजुजस्ता लाग्ने , MY LORD !
तिम्रो न्यायको व्यापार खुब फस्टाएछ।
तर अफशोच ! हाम्रा मुस्कानहरु तिम्रो न्याय किनेर,
उन्मक्त हाँसो हाँस्नै सक्दैनन् ।
सत्यको बाटो हिँड्छु भन्दै ,
गीता छोएका तिम्रा हातहरुले ,
थप पवित्रा र सीता पनि छोए रे!
साँच्चि सत्यदेवीहरु कहिलेसम्म ,
हवनको चरु बनिरहनु पर्ने हो ?
मेरो रक्षा गर्न पठाइदिएका,
तिम्रा सुरक्षाकर्मीबाटै ,
म असुरक्षा महशुस गर्दै छु।
उसका बर्दीहरु मलाई कात्रोभन्दा कम लाग्दैनन्।
MY LORD !
न्यायलयबाट ,
न्याय हराएको उजुरी लिएर ,
कुन न्यायलय जानुपर्छ ?
म सदियाैँदेखि हरेक बहानामा जल्दै अाएकी छु।
कहिले डिजेलले,कहिले मट्टीतेलले,
कहिले परिवारको दबाबले,
कहिले प्रेमीको तेजाबले,
तिमी जलाइरहन्छाै म जलिरहन्छु,
निशर्त …. MY LORD !
तिम्रो न्यायलय जलाउन म केके लिएर अाऊँ?
तिम्रो न्यायलय जलेको खरानीका डल्लामा,
तिम्रै रगतको भोग चढाएर ,
मलाई बोक्सी भन्ने समाजलाई ,
पात्लो फालिदिन मन छ।
मेरो यत्ति अन्तिम इच्छा पूरा गर्न देऊ न है!
MY LORD !
तिम्रो अथाह न्यायको भण्डारबाट,
मलाई एक धार्ने न्याय देऊ न है!