घुमाउने ताल कटानको जोखिममा

घुमाउनेताल, ८ साउन । म्याग्दीको रघुगंगा गाउपालिका–३ घुमाउने तालको बस्ति कालीगण्डकी नदीको कटानका कारण जोखिममा परेको छ ।

केही दिनअघि कालीगण्डकीमा आएको बाढीले बस्तितर्फ कटान गर्न थालेपछि स्थानीयबासी त्रसित भएका छन् । बस्ति संरक्षणका लागि गरिएको तटबन्ध भत्काएर कटान गर्न थालेपछि रातको समयमा घरमा बस्न छाडेको स्थानीय सुनील शाहीले बताउनुभयो ।

करिब डेढ सय मिटर भागमा कटान गरेकाले कालीगण्डकी बस्तिमा पस्ने खतरा बढेको उहाले बताउनुभयो । पहिलेको भन्दा पाँच देखि सात मिटर बस्तितर्फ कालीगण्डकीले कटान गरेको छ । दिउँसो घरमा बसेपनि रातिमा माथिल्लो भागमा रहेको कालीगण्डकी रिसोर्टमा गएर सुत्ने गरेको स्थानीयबासीले बताएका छन् ।

बेनी–जोमसोम सडक र अन्नपूर्ण धौलागिरि सामुदायिक पदमार्गको प्रवेशबिन्दुमा पर्ने घुमाउने तालमा कालीगण्डकी रिसोर्टबाहेक १६ घरधुरीको बसोबास छ । सुनिल शाही, नविन शाही, भरत मल्ल, रचना कार्की, पामे दर्जी, दुर्गाराज पुर्जा, गुमानसिंह मल्ल, विशाल मल्ल, महेन्द्र गुरुङ, नगेन्द् शाही, हेमराज अर्मजा, अनील शाही, जंगबहादुर फगामी, प्रेमराजा फगामी, माया गुरुङ, रामबहादुर शाही र हिरा पुनको घर जोखिममा परेको छ ।

तीन वटा घरको शौचालयको सेफ्टीट्याङ्की कालीगण्डकीको बाढीले बगाएको छ । तत्काल अस्थिाई र दिर्घकालीन रुपमा नदी नियन्त्रणको योजना आवश्यक रहेको घुमाउनेतालको कालीगण्डकी रिसोर्टका सञ्चालक हरि चन्द्ले बताउनुभयो । चन्द् सञ्चालक रहेको सिद्ध बल्क उद्योगको करिब एक हजार २०० थान बल्क समेत बाढीले बगाएको थियो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: