जलजलाका विपन्नलाई राहत वितरण सुरु

बेनी, २६ असार । कोरोना (भाइरस)को जोखिम र रोकथामका लागि गरिएको लकडाउनका कारण समस्यामा परेका जलजला गाउपालिकाका आठ सय परिवारलाई तीस लाख रुपैयाँ मूल्य बराबरको खाद्यान्न राहत वितरण गरिएको छ । गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले हिमालयन बालकल्याण मञ्चको सहयोगमा राहत वितरण गर्नुभएको हो ।

जलजला गाउँपालिकाका वडा नं २, ४, ५ र ७ नम्बर वडाका आठसय विपन्न परिवारलाई लक्षित गरि वितरण गर्न लागिएको उक्त राहत सामग्री अन्तर्गत प्रति परिवारलाई ४० केजी चामल, चार केजी दाल, तीन लिटर तेल र दुई केजी नून रहेको मल्लले जानकारी दिनुभयो ।

आइतबार जलजला–७ धाईरिङका एकसय ७५ जना परिवारलाई एक कार्यक्रमका बीच राहत वितरण गरिएको थियो । नेपाली काँग्रेस पर्वतका कोषाध्यक्ष समेत रहनुभएका मल्लले कोरोनाको महामारीबाट आक्रान्त भएका र लकडाउनको कारण श्रम गर्नबाट समेत बञ्चित भएका दलित तथा विपन्न वर्गको समस्यालाई मध्यनजर गर्दै आफूले दाता संस्थासँग गुहारेर उक्त राहत सामग्री जुटाएको वताउनु भयो ।

अध्यक्ष मल्लले गाउँपालिकाभित्रका अति निम्न गरीब, दलित र कमजोर आय भएका समुदायलाई हेरेर यो कार्यक्रम बनाइएको वताउँदै आउँदा दिनमा अन्य वार्डमा समेत यस्तो कार्यक्रम संचालन गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । अध्यक्ष मल्लले यो राहत सहयोगका लागि समन्वय गरिदिने प्रदेश सभा सदस्य ललितकला गुरूङ र मोदी गाउँपालिका– १ भूकका वडाअध्यक्ष भूलवहादुर पौडेलप्रति पनि आभार व्यक्त गर्नुभएको थियो ।

जलजला गाउँपालिकाको वातावरण तथा विपत व्यवस्थापन समितिका संयोजक तथा वडा नं–४ का वडा अध्यक्ष भीष्म मल्लको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि रूद्रलाल उपाध्याय र कार्यपालिका सदस्य मायाकुमारी शर्मा लगायतले राहत सहयोग जुटाएर विपन्न वर्गको जीविकोपार्जनमा महत्वपूर्ण योगदान गर्ने अध्यक्ष मल्लको प्रशंसा गर्नुभएको थियो ।

जलजला गाउँपालिकाको आयोजनामा भएको उक्त कार्यक्रमको संचालन जलजला गाउँपालिकाका शाखा अधिकृत लीलाधर सुवेदीले गर्नुभएको थियो । अन्य वडाका ६२५ परिवारलाई शनिबार र आइतबार क्रमश राहत वितरण गरिने जलजला गाउँपालिकाले जानकारी दिएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: