बेनी नगरपालिकाद्धारा निर्माण सामग्रीको गुणस्तर परिक्षण सुरु

बेनी, १९ असार । म्याग्दीको बेनी नगरपालिकाले विकास आयोजनामा प्रयोग भएका निर्माण सामग्रीको गुणस्तर परिक्षण गर्न थालेको छ ।

तोरीपानीमा सिभिल इञ्जिनियरीङ विषयको पठनपाठन सञ्चालन गरेको गलेश्वर माविको प्राबिधिक सहयोगमा विकास आयोजनामा प्रयोग गरिने सिमेन्ट, बालुवा र गिट्टीको गुणस्तर परिक्षण सुरु गरेको हो ।

नाली, सढक ढलान, भवनको पिल्लर, ढलान लगायत रड राखेर सिमेन्ट, बालुवा र गिट्टी मिसाएर गरिएका कंक्रिटको अत्याधुनिक रिबाउण्ड ह्याम्बर औजारको सहायताले गुणस्तर चाँच गर्न थालिएको नगरपालिकाका इञ्जिनियर बिमलरञ्जन कार्कीले जानकारी दिनुभयो ।

रिबाउण्ड ह्याम्बरले सहायताले उपभोक्ता समिति र निर्माण ब्यवसायीले तोकिएको गुणस्तर अनुसारको निर्माण सामग्री मात्रा र अनुपात मिलाएर सहित तरिकाले प्रयोग गरे नगरेको मापन गर्न सकिने उहाँले बताउनुभयो ।

शुक्रबार बेनी–पाखापानी सडकको आँपरुख देखि अर्र्थुङ्गे देउराली सडकको किनारमा निर्मित नाली र जामुनाखर्क मावि जाने सडकमा गरिएको ढलानको गुणस्तर परिक्षण गरिएको थियो । परिक्षणका क्रममा ७३५ मिटर नाली मध्य करिब ३०० मिटर मात्र गुणस्तर परिक्षणमा सफल भएको नगरपालिकाले जनाएको छ ।

२८ दिनअघि ढलान गरिएको नालीले २० न्युतन १२ मिलिमिटर स्कायर क्षमताको चाप धान्नुपर्नेमा सो नसकेपछि गुणस्तर नपुगेको पाइएको छ । गुणस्तर नपुगेको नाली भत्काएर पुन बनाउन लगाउने इञ्जिनियर कार्कीले बताउनुभयो । वाइट

उपभोक्ता समिति मार्फत जामुनाखर्क मावि जोड्ने सडकमा गरिएको ढलान भने तोकिएको गुणस्तर अनुसार पाइएको छ । सिभिल इञ्जिनियरीङ कक्षाका प्रशिक्षक लालबहादुर खत्रीले कंक्रिट टेस्ट ह्याम्बर चालु गरेर अठाउदा तोकिएको गुणस्तर अनुसारको काम भए नभएको पहिचान गर्न सकिने बताउनुभयो ।

बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छवीलाल सुवेदीले कंक्रिट गरिएका सबै आयोजनाको गुणस्तर परिक्षण गरिने बताउनुभयो । नगरपालिकाले आफै उपकरण खरिद गरेर योजनालाई गुणस्तरीय बनाउने सुवेदीले बताउनुभयो ।

नगरप्रमुख हरिकुमार श्रेष्ठले प्रबिधिको प्रयोगबाट गुणस्तर परिक्षण गर्दा उपभोक्ता, निर्माण ब्यवसायी र प्राबिधिक तथा अनुगमन समितिलाई जवाफदेही बनाउने बताउनुभयो । नगर क्षेत्रमा संघ र प्रदेस सरकारले सञ्चालन गरेका योजनाको पनि यही बिधिबाट गुणस्तर मापन गर्ने उहाँको भनाई छ ।

आँखाको भरमा गरिदै आएको अनुगमनलाई प्रभावकारी र उपलब्धिमुलक बनाउन औजारको प्रयोगले सहयोग पुग्ने बताउनुभयो । नगर कार्यपालिकाको भौतिक पूर्वाधार समितिका संयोजक कृष्णकुमार विश्वकर्माले कंक्रिट गरिएका नगरका सबै आयोजनाको यही बिधिबाट गुणस्तर परिक्षण गर्ने बताउनुभयो ।

निर्माण ब्यवसायी महासंघ म्याग्दीका उपाध्यक्ष समेत रहनुभएका खुसीहोम प्रा.ली.का सञ्चालक मनोज कार्कीले दक्ष कामदार र गुणस्तर अनुसारको निर्माण सामग्री नपाउदाँ कमजोरी भएको स्विकार गर्नुभयो ।

एक करोड ३० लाख २१ हजार रुपैयाँ लागत अनुमान गरिएको बेनी–पाखापानी सडकको १ किलोमिटर कालोपत्रे, ७३५ मिटर नाली र १३० मिटर ढलान गर्न खुसीहोम प्रा.ली.ले ८८ लाख १८ हजार रुपैयामा ठेक्का लिएको थियो ।

हालसम्म नाली बनाउने काम मात्र भएको नगरपालिकाका प्राबिधिक चन्द्रबहादुर थापाले बताउनुभयो । कोरोनाको जोखिम र लकडाउनको कारण देखाएर ठेक्का सम्झौताको म्याद थपको तयारी भएको छ । अर्थुङ्गे ब्यारेक आसपासका क्षेत्रमा निर्माणाधिन सडक हिलाम्मे हुँदा आवत जावतमा कठिनाई हुनुका साथै दुर्घटनाको जोखिम बढेको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: