रघुगंगाको बजेट कोरोना रोकथाम, पूर्वाधार, कृषि र विपद् व्यवस्थापनमा केन्द्रित

मौवाफाँट, १० असार । म्याग्दीको घरगंगा गाउपालिकाले आगामी आर्थिक वर्ष २०७७÷७८ मा कोरोना रोकथाम, पूर्वाधार, कृषि र विपद् व्यवस्थापनलाई प्राथमिकता दिदै पौने ४० करोड रुपैयाँको बजेट ल्याएको छ ।

मौवाफाँटमा बुधबार सम्पन्न आठौ गाउसभामा उपाध्यक्ष कमला तिलीजाले प्रस्तुत गर्नुभएको ३९ करोड ७४ लाख ३५ हजार २४० रुपैयाँको बजेट पारित भएको हो । चालुतर्फ १९ करोड ८३ लाख र पुजिगततर्फ ११ करोड ५८ लाख ३१ हजार रुपैयाँ बजेट बिनियोजन भएको छ । प्रशासनिक खर्च तर्फ छ करोड ४४ लाख २२ हजार रुपैया बिनियोजन भएको छ ।

सामाजिक सुरक्षा भत्तालाई बजेटमा समावेश नगरेको रघुगंगलाले चालू आर्थिक वर्षको तुलनामा चालु शिर्षकको बजेट ९० लाख ७१ हजार रुपैया घटाएको छ । संघीय, प्रदेश सरकारको अनुदान, चालु आर्थिक वर्षमा खर्च हुन नसक्ने बजेटका अलावा आन्तरिक आम्दानी ५३ लाख पचास हजार रुपैयाँ प्रस्ताव गरिएको छ ।

बजेट अघि गाउपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम पारित भएको थियो । विश्वब्यापी महमारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथामका लागि एक करोड र विपद् व्यवस्थापनका लागि ६० लाख रुपैयाँ बिनियोजन गरिएको छ । स्वास्थ्यकर्मीहरुको एक लाख रुपैयाँ बराबरको स्वास्थ्य बिमा र स्वास्थ्यकर्मीको ज्यान गएमा परिवारलाई पाच लाख राहत दिने व्यवस्था मिलाएको छ ।

पालिकाभित्र प्राकृतिक प्रकोपको अवस्थामा खोज उद्दार र राहतका लागि पालिका स्तरमा ४२ पचास हजार र वडा स्तरमा २२ लाख पचास हजार रुपैयाँको कोष बनाइएको छ । पूर्वाधार विकासतर्फ कुल १० करोड ३७ लाख ४० हजार रुपैयाँ बजेट बिनियोजन गरेको रघुगंगाले दग्नाम दर्मीजा चिमखोला हुदै कुइनेमंगले जोड्ने सडक निर्माणका लागि सबैभन्दा बढी एक करोड ५० लाख रुपैयाँ बिनियोजन गरेको छ ।

पाखापानीको कालमुडा देखि रायखोर जोड्ने सडकलाई चालीस लाख, प्रदेश सरकारसँगको साझेदारीमा झि पाखापानी सडक कालोपत्रे गर्न असी लाख, बेगखोलाको लामो पुल र भूमेस्थान जोड्ने पदमार्गलाई पच्चिस लाख बिनियोजन गरेको छ । मौवाफाटमा गाउपालिकाको भवन बनाउन नेपाल सरकारको साझेदारीमा असी लाख, सभाहल बनाउन एक करोड तीस लाख र झिँको वडा कार्यालयलाई ३६ लाख बिनियोजन गरेको छ ।

सामाजिक विकासतर्फ १८ करोड ७१ लख ९३ हजार २४० रुपैया बजेट बिनियोजन भएकोमा स्वास्थ्यमा पाँच करोड ७४ लाख चालीस हजार छुट्टाएको छ । पाखापानी र पिप्लेमा ल्याब स्थापना गर्न पन्ध्र लाख, स्वास्थ्य शिविर सञ्चालन गर्न आठ लाख र संस्थागत सुत्केरी उपाध्यक्ष कार्यक्रम मार्फत पोशिला खानेकुरा वितरण गर्न पाँच लाख बिनियोजन गरेको छ ।

शून्य दरबन्दिका विद्यालयमा एक एक जना शिक्षकको तलब भत्ताको व्यवस्था गर्ने, दरबन्दि मिलान गर्ने, बाल शिक्षा सहजकर्तालाई थप पारिश्रमिक, स्वमसेवक शिक्षकको रुपमा अध्यापन गराउने सर्त सहित उच्च शिक्षा छात्रवृत्ति, स्थानीय पाठ्यक्रम निर्माण गर्ने लगायतका नीति लिएको रघुगंगाले शिक्षा तर्फ १२ करोड ७३ लाख ७३ हजार २४० रुपैयाँ बिनियोजन गरेको छ ।


रोजगारी सिर्जनाका लागि प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गर्न ५१ लाख ७० हजार रुपैयाँ सहित उद्यमशिलता श्रम तथा रोजगार तर्फ ६३ लाख ३० हजार, गरिबि निवारणमा १२ लाख रुपैयाँ, सहज अवस्था भएको खण्डमा रघुगंगा पर्यटन महोत्सव सञ्चालन गर्न १२ लाख रुपैयाँ बिनियोजन गरेको छ ।

वैदेशिक रोजगारबाट फर्किएका युवा लषित साझेदारी ब्यवसायिक पशुपालन, पशुको नश्ल सुधार, भेडा संरक्षण, दूध र मासुमा आत्मनिर्भर बनाउने नीति सहित पशुपालन तर्फ ५८ लाख बिनियोजन भएको छ । कृषि उत्पादन वृद्धि, आत्मनिर्भर बनाउने, कृषि बिमा, माटो परिक्षण, फलफुलका बिरुवा वितरण, कृषि औजार वितरण र प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाका लागि एक करोड दुई लाख पचास हजार बिनियोजन भएको छ ।

चालु आर्थिक वर्षमा बिनियोजित बजेट मध्य हालसम्म चालुतर्फ दश करोड तथा पुजिगततर्फ करिब पाँच करोड २५ लाख रुपैयाँ खर्च भएको छ । बजेट बिनियोजन भएका योजना तथा कार्यक्रमका समयमै सर्वेक्षण, उपभोक्ता समिति गठन, सम्झौता, ठेक्का प्रक्रिया अघि बढाएर असारे विकासको समस्या न्युनीकरण गरिने प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो ।

नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्नुअघि पाखापानीका वडा अध्यक्ष मनकुमार शेरपुञ्जाले सञ्चालन र कार्यपालिका सदस्य सम्झना दर्जीले स्वागत गर्नुभएको कार्यक्रममा नेकपा रघुगंगाका अध्यक्ष दिपक कार्की र नेपाली काँग्रेसका अध्यक्ष जिवन मल्लले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।

कार्की र मल्लले गाउपालिकाको विकासमा सहकार्य र साझेदारी गरेर अघि बढ्ने उद्घोष सहित राजनीतिक एकताको सन्देश दिनुभएको थियो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: