मालिकाको जुग्जा र धवलागिरीको काफलडाडा सडकले जोडियो

बेनी, ३ असार । म्याग्दीको धवलागिरी र मालिका गाउपालिका जोड्ने बैकल्पिक सडक निर्माण भएको छ ।

मालिका गाउपालिकाको दरवाङ–देविस्थान– जुग्जा हुदै धवलागिरी गाउपालिकाको ताकमकोत–काफलडाडा–शिवाङ र ताकम जोड्ने सडक निर्माण भएको हो । तत्कालीन जिल्ला विकास समितिले २०७२ देखि सुरु गरेको जुग्जा र ताकमकोत जोड्ने सडक निर्माण योजनालाई दुई वटै पालिकाले बजेट बिनियोजन गरेर पूर्णता दिएका हुन् ।

यो धवलागिरी गाउँपालिकालाई जोड्ने बैकल्पिक सडक हुने बताइएको छ । मालिका र धवलागिरी गाउपालिका जोड्ने यो सहित तीन वटा सडक भएका छन् । यसअघि दरवाङ–फेदी–धारापानी–ताकम–मुना र दरवाङ–बिम–ताकम–मुना सडकको ट्याक निर्माण भैसकेको छ ।

जुग्गा–ताकमकोत–काफलडाडा सडकले मालिकाको ओखरबोट, रुम, देविस्थान, तमानखोला गाउपालिका, धवलागिरीको ताकम, मुना, मुदी, लुलाङ, गुर्जाका बासिन्दालाई आवत जावतमा सहज हुने धवलागिरी गाउपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले बताउनुभयो ।

यसलाई बैकल्पिक दरवाङ–मुना जोड्ने बैकल्पिक सडकको रुपमा समेत प्रयोग गर्न सकिने उहाँले बताउनुभयो । धवलागिरी गाउपालिकाका इञ्जिनियर सोविन जिसीका अनुसार ताकमकोत नजिकै पुगेको सडकलाई जुग्जातर्फ जोड््ने आठ सय मिटर भिरमा ट्याक खोल्न यस वर्ष २५ लाख रुपैयाँ बिनियोजन भएको थियो ।

उपभोक्ता समिति मार्फत सडक निर्माण भएको हो । मालिका गाउपालिकाले यस वर्ष १५ लाख रुपैयाँ र गत वर्ष २५ लाख रुपैयाँ बिनियोजन गरेको थियो । धेरै वर्षको प्रयासपछि जुग्जा–ताकमकोत–काफलडाडा सडक निर्माण भएको मालिका–५ देविस्थानका वडा अध्यक्ष पिपला बुढाथोकीले बताउनुभयो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: