रत्नेचौरमा खेलमैदान निर्माण सुरु

बेनी ३२ जेठ । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरमा धौलागिरि क्षेत्रमै ठूलो खेलमैदान निर्माण सुरु भएको छ ।

युवा तथा खेलकुद मन्त्रालयले रत्नेचौर खेलमैदानमा पूर्वाधार निर्माण सुरु गरेको हो । यसअघि स्थानीय र नगरपालिकाको लगानीमा गरिदै आएको पूर्वाधार निर्माणका लागि मन्त्रालयले बजेट बिनियोजन गरेपछि तिब्रता पाएको छ ।

यस वर्ष मन्त्रालयको पचास लाख रुपैयाँ सहयोगमा खेलमैदानको डिलतर्फ प्याराफिट बनाउन लागिएको उपभोक्ता समितिका अध्यक्ष गणेश बोगटीले जानकारी दिनुभयो । ५ स्टेप भएको ६० मिटर लम्बाई र २.७० मिटर चौडाई भएको प्याराफिट बनाउन लागिएको छ ।

प्याराफिट माथि १० फिट अग्लो तारजाली समेत लगाइने भएको छ । धौलागिरि क्षेत्रकै ठूलो क्षेत्रफल भएको खेलमैदान बनाउन आवश्यक पर्ने जग्गा भएका कारण यसलाई रंगशालाकै रुपमा अघि बढाउन मन्त्रालयले चासो दिएको उपभोक्ता समितिका अध्यक्ष बोगटीले बताउनुभयो ।

कोरोनाको जोखिम र बन्दाबन्दीको बीच स्थानीय मजदुर परिचालन गरेर निर्माणको काम गरिएको छ । दैनिक रुपमा २० देखि २५ जनाले काम गरिरहेका छन् । समूह बनाएर फरक फरक ठाउँमा भौतिक दुरि कायम हुने गरि मजदुरलाई काममा लगाएको उपभोक्ता समितिका सदस्य पुनम पुनले बताउनुभयो ।

बन्दाबन्दीका कारण रोजगारी गुमाएका र फुर्सदीला भएका युवाहरु गाउँमै काम पाउँदा उत्साहीत भएका छन् । प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापाले रत्नेचौर खेलमैदान योजनालाई निरन्तरता दिने बताउनुभएको छ ।

हाल १६० मिटर लम्बाई र १०० मिटर चौडाई भएको खेलमैदानलाई अझै विस्तार गर्न सकिने जग्गा छ । ११÷११ जना खेलाडीलाई फुटबलका साथै एथलेटिक्स र दौड प्रतियोगिता सञ्चालन गर्न सकिन्छ ।

बागलुङ, म्याग्दी र पर्वतको पायक पर्ने ठाउँ भएकाले रत्नेचौर खेलमेदानमा पूर्वाधार भएमा ठूला खेल प्रतियोगिता सञ्चालन गर्न सकिने स्थानीय युवा सुजन थापाले बताउनुभयो ।

गत वर्ष २० लाख रुपैयाँको लागतमा खेलमैदान परिसरमा मञ्च निर्माण भएको छ । त्यसअघि दश लाख रुपैयाँको लागतमा २०० मिटर तारजाली लगाइएको थियो । केही वर्षअघि स्थानीय युवाहरुले आर्थिक संकलन गरेर भिरालो जमिन सम्माएका थिए ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: