दादुरा रुबेला विरुद्धको खोप अभियान  सूरु

बेनी, जेठ ।  विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना (भाइरस)को त्रास र रोकथामका लागि गरिएको लकडाउनका कारण म्याग्दीमा स्थगित भएको दादुरा रुबेला रोग विरुद्धको खोप अभियान सुरु भएको छ ।

चैत १० गतेदेखि सुरु भएको अभियान सरकारले लकडाउन घोषणा गरेपछि स्थगित भएको थियो । धवलागिरी, मालिका र मंगला गाउपालिकामा लकडाउनकै बीच बालबालिकाहरुलाई दादुरा रुबेला रोग विरुद्धको खोप लगाइएको थियो ।

रघुगंगा र अन्नपूर्ण गाउपालिकामा शुक्रबारदेखि सूचारु भएको खोप अभियान बेनी नगरपालिकामा शनिबारदेखि सुरु भएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बताउनुभयो ।

स्वास्थ्य सेवा विभागको निर्देशन अनुसार कोभिड–१९ जिल्ला कमाण्ड पोष्ट र स्थानीय तहहरुसँग समन्वय गरेर अभियान सञ्चालन भएको लम्सालले बताउनुभयो । उहाँका अनुसार जेठ २१ गते भित्रै लक्षित सबै बालबालिकालाई खोप लगाइसक्ने लक्ष्य छ ।

राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत २०७६ चैत १० देखि २९ गतेसम्म दादुरा–रुवेला रोगविरुद्ध खोप अभियान सञ्चालन गर्ने समयतालिका लकडाउनका कारण प्रभावित भएको थियो । अन्य खोप सेवा भने बैशाख दोस्रो सातादेखिनै सुरु भएका छन् ।

नौ महिना देखि ५ वर्ष सम्मका नौ हजार ३५२ जना बालबालिकालाई सो रोगका विरुद्ध खोप दिने लक्ष्य राखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लाभर खोप अभियानमा ३६५ वटा खोप केन्द्रमा ७४० जना खोपकर्ता परिचालन भएका छन् ।

दादुरा रुवेला रोगविरुद्ध खोपको पहुँच देशभरमा ९५ प्रतिशतभन्दा माथि भएको सुनिश्चित हुनुपर्ने साथै अभियानको अवसरमा नियमित खोपको समेत सुदृढीकरण गर्ने लक्ष्य रहेको छ ।

नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०१६ का अनुसार देशका २१ प्रतिशत बालबालिका अझै पनि पूर्ण खोपबाट बञ्चित रहेको र एक प्रतिशत बालबालिकामामा खोप पुग्न नसकेको (शून्य डोज) सकेको छैन ।

नेपालमा विसं २०३४ मा विफर उन्मूलनपछि खोप थपिदै जाने क्रममा हाल ११ वटा खोप सञ्चालनमा रहेको छ । बाल मृत्युको कारणमध्ये दादुरासमेत एक भएकाले यसबाट बालबालिकालाई बचाउन सरकारले उच्च प्राथमिकता साथ खोप कार्यक्रम सञ्चालन गर्दै आएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्राथमिकता कार्यक्रमभित्र खोप कार्यक्रम रहेको छ ।

सन् २०२३ भित्रमा नेपालबाट दादुरा–रुवेला निवारणको राष्ट्रिय प्रतिबद्धता रहेकाले अभियानको रूपमा खोप कार्यक्रम शुरु गर्न लागिएको हो । देशका केही प्रदेशमा भने अभियान सम्पन्न भइसकेको छ । वि.सं २०७२ मा म्याग्दी र २०७५ भदौमा गण्डकी प्रदेशलाई पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा गरिएको थियो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: