कोरोना फैलिन नदिन म्याग्दीमा कार्ययोजना

बेनी, १६ जेठ । म्याग्दीमा कोरोना फैलिन नदिन जिल्ला स्तरीय कार्ययोजना बनाइएको छ । जिल्ला प्रशासन कार्यालयले शुक्रबार बेनीमा बोलाएको सर्वपक्षीय बैठकले कार्ययोजना बनाएको हो ।

भारतीय सिमानामा आएर अलपत्र परेका नागरिकहरुको उद्धारका लागि म्याग्दीका ६ वटै पालिकाहरुले एक वटा बस र दुई वटा जिपको व्यवस्था गर्ने निर्णय भएको छ । भारतबाट आउनेहरुलाई राख्न हाल बेनीमा रहेको क्वारेन्टिनको क्षमता बढाउने उनिहरुको खानपानको व्यवस्था सम्बन्धित पालिकाले गर्ने भएका छन् ।

भारतबाट आउनेहरु सबैलाई बेनीकै क्वारेन्टिनमा राख्ने र पिसिआर बिधिबाट कोरोना परिक्षण गर्न ६०० वटा भिटिएम व्यवस्थापन गर्ने निर्णय भएको छ । भारतबाट ल्याएका १०३ जनालाई बेनीका क्वारेन्टिनमा राखिएको छ ।

सुनौली नाकाबाट जेठ ९ गते आएका मालिका ४ ओखरबोटका ३० वर्षीय पुरुषलाई कोरोना पुष्टि भएपछि शैक्षिक तालिम केन्द्रमा स्थापित आइसोलेशनमा राखेर उपचार सुरु भएको छ ।

जेठ १० गते आएका २९ जनाको स्वाब संकलन गरेर पोखरा परिक्षणका लागि पठाइएको छ । जेठ ११ गते आएका २० जनाको शुक्रबार स्वाब संकलन गरिएको स्वास्थ्य कार्यालयका प्रमुख एकनारायण लम्सालले बताउनुभयो ।

आइसोलेशन सञ्चालन गर्न सबै पालिकाले अहिलेलाई एक एक जना स्वास्थ्यकर्मी खटाउने, औजार, स्वास्थ्य सामग्रीको व्यवस्थापन कोभिड १९ संकट व्यवस्थापन केन्द्रले गर्ने र आर्थिक स्रोत पालिकाहरुले उपलब्ध गराउने निर्णय भएको छ ।

विकास निर्माणका कामलाई सहजिकरण गर्ने, बेनीको बजार तथा बैंकिङ क्षेत्रको लकडाउन खुकुलो बनाउन सुझाव आएपनि सुरक्षाका हिसाबले लकडाउनको परिपालनामा यथावत गरिने भएको छ ।

प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले कोरोना रोकथाम र व्यवस्थापनका लागि हालसम्म भएका प्रयासहरुको समिक्षाका लागि संक्रमण देखिसकेको अवस्थामा कसरी अघि बढ्ने भन्ने विषयमा सरोकारवालाहरुको सुझावको आधारमा कार्ययोजना तयार पारिएको बताउनुभयो ।

संबिधानसभाका सदस्यहरु, राजनीतिक पार्टीका प्रतिनिधि, जिल्ला समन्वय समितिका प्रमुख, ६ वटै पालिकाका पदाधीकारी, प्रमुख प्रशासकीय अधिकृत, बेनी अस्पताल, स्वास्थ्य कार्यालय, सुरक्षा निकाय, नागरिक समाज, उद्योग वाणिज्य संघका प्रतिनिधिहरुबीच छलफल भएको थियो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: