कोरलामा सशस्त्रको बिओपी

जोमसोम : भारतीय नाकाबन्दीपछि एकाएक चर्चामा चुलिएको मुस्ताङको उत्तरी कोरलानाकास्थित नेचुङमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट स्थापना भएको छ । उत्तरी छिमेकी देश चिनको स्वशासितक्षेत्र तिब्बत र मुस्ताङको सीमाक्षेत्रको नेपालतर्फ १० किमी यता लोमान्थाङ-४ नेचुङमा सशस्त्रको बिओपी स्थापना गरिएको हो ।

बर्सेनि बर्खायाममा २ पटक लाग्ने अन्तरदेशिय मेलालाई लक्षित गरी राखिएको सीमा भन्सार कार्यालयको नवनिर्मित क्वारेन्टाइन भवनमा अस्थायी बिओेपी खडा गरिएको हो ।

सरकारले सीमावर्ती क्षेत्रमा बिओपी विस्तार गर्ने योजनाअनुसार उत्तरी कोरलाको नेचुङमा बिओपी राखिएको जनाइएको छ । यसअघि उत्तरी कोरलानाकामा सुरक्षा तथा अवैध क्रियाकलाप रोक्न सरकारी उपस्थितिको प्रबन्ध थिएन ।

झन्डै एक वर्षको लामो सरकारको प्रयासपछि नेचुङमा बिओपी स्थापना गर्ने कार्यले पूर्णता पाएको हो।बिहीबार सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक नारायण बडु थापाले अस्थायी बिओपीको एक समारोहकाबीच उद्घाटन गरे । महानिरीक्षक थापाले सीमाक्षेत्रको शान्ति सुरक्षा कायम गर्न तथा नाका आसपास हुनसक्ने अवैध क्रियाकलाप न्युनिरकण गर्न सशस्त्रको बिओपीले योगदान पुर्‍याउने दावी गरे । 

उनले शान्ति सुव्यवस्था र अवैध गतिविधि रोकथाम गर्न स्थानीय स्तरको समन्वय आवश्यक भएको औल्याए । गण्डकी प्रदेशको लाइभ लाइन भएपनि यो देशकै सम्भावना बोकेको नाका भएको उल्लेख गरे ।

बिओपी उद्घाटनमा पुगेका गण्डकी प्रदेशका सांसद ईन्द्रधारा बिष्टले सशस्त्रको बिओपी स्थापनाले कोरलानाका खोल्ने सन्देश प्रदान गरेको बताए ।उनले सरकारले कोरलानाका खोल्ने उद्देश्यले धमाधम सडक स्तरोन्नतिकार्य भइरहेको जनाए ।
मुस्ताङका सिडिओ वेदप्रकास अर्यालयले बिओपी स्थापनासँगै सीमा नाकामा हुनसक्ने अवैध तस्करी रोक्न ,नाका सुरक्षा र विपद उद्दारमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।

लोघेक दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले सीमा नाका चुस्त राख्न तथा शान्ति सुरक्षा कायम गर्न स्थानीयतहले सहयोग गर्ने प्रतिबद्धता जनाए ।यसअघि कोरोना कहरले सिर्जित जारी लकडाउनकै अवस्थामा सशस्त्र अतिरिक्त प्रहरी महानिरीक्षक एआईजी नारायण बडु थापा ,सशस्त्र क्षेत्रिय प्रहरी प्रमुख डिआईजी कविन्द्रमान श्रेष्ठ ,गुल्मपति सशस्त्र प्रहरी नायब उपरिक्षक आनन्द थापा ,गण्डकी प्रदेशका सांसद ईन्द्रधारा बिष्ट ,जिसस प्रमुख छिरिङ ल्हामो गुरुङ ,प्रमुख जिल्ला अधिकारी वेदप्रकाश अर्याल ,लोमान्थाङ तथा लोघेरक दामोदरकुण्ड गाउपालिकाका स्थानीय जनप्रतिनिधि लोमान्थाङ-४ नेचुङ पुगेका थिए ।

उत्तरी कोरलानाकामा ३ बर्षअघि सशस्त्र प्रहरीको बिओपी पूर्वाधार निर्माण गर्न ३३ रोपनी जग्गा प्राप्त भइसकेको छ । सरकारले उक्त स्थानमा बिओपी पूर्वाधार निर्माण गर्न बजेट समेत बिनियोजना गरिसकेको छ ।

नेचुङमा स्थापना भएको अस्थायी बिओपीमा सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा २० जना सशस्त्र जवान खटिने गुल्मपति डिएपी आनन्द थापाले जानकारी दिए ।उद्घाटनसँगै सशस्त्र अतिरिक्त महानिरीक्ष थापा र सशस्त्र क्षेत्रीय प्रहरी प्रमुख डिआइजी कविन्द्रमान श्रेष्ठसहितको टोलीले क्वारेन्टाइन भवनमा राखिएको बिओपी भवनको निरीक्षण गरे ।

नेचुङमा सशस्त्रको बिओपी स्थापना भएको २ वर्षअघि लोमान्थाङको लुङ्खुफाटमा नेपाली सेनाको क्याम्प समेत बसिसकेको छ । त्यहाँ सेनालाई १२ सय ७० रोपनी जग्गा प्राप्त भएको छ भने नेचुङमा सीमा प्रहरीका लागि समेत जग्गा प्राप्ति भइसकेको छ ।

सशस्त्रको टोलीले बिहीबार नै उत्तरी कोरलानाकाको निरीक्षण गरेको छ । टोलीले लोघेकर दामोदरकुण्ड गाउँपालिकासँग बिओपी व्यवस्थापन गर्ने र सीमा सुरक्षालाई मजबुद पार्ने सम्बन्धमा छलफल गरेको छ।

Annapurnapost.com अन्नपूर्ण पोष्टका सुन्दरकुमारी थकालीको रिपोर्ट

Leave a Reply

Scroll to Top
%d bloggers like this: