म्याग्दीको दाना आयुर्वेद औषधालयको कम्पाउण्ड पर्खाल निर्माणमा अतियमितता

बेनी, ११ जेठ । म्याग्दीको अन्नपूर्ण गाउपालिका–३ मा रहेको दाना आयुर्वेद औषधालयको कम्पाउण्ड पर्खाल निर्माण कार्यमा अनियमितता गर्ने पाँच जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र म्याग्दीका तत्कालीन निमित्त कार्यालय प्रमुख रमेश शर्मा भुसाल, दुई जना इञ्जिनियर र दुई जना निर्माण ब्यवसायी उपर जनही एक लाख ४५ हजार ९२८ रुपैयाँ बिगो कायम गरि जेठ ८ गते विशेष अदालतमा अनियमितता सम्बन्धी आरोपपत्र दायर गरेको अख्तियारका प्रवत्ता प्रदिपकुमार कोइरालाद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

शर्मा विरुद्ध भ्रष्ट्राचार निवारण ऐन, २०५९ को दफा ११ अनुसारको कसुर गरेकाले सोही ऐनको दफा ११ बमोजिम सजायको माग दावी गरिएको छ ।

निर्माण कार्यको फिल्ड निरीक्षण गरी वास्तविक लागत अनुमान तयार नगरेको र फिल्डमा नभएको कार्य समेत नापी किताबमा चढाई बदनियतपूर्वक बढी भुक्तानी गर्न सिफारिस गर्ने भवन निर्माण विभाग डिभिजन कार्यालय, बागलुङ्गका तत्कालीन डिभिजन प्रमुख तेजेन्द्र शर्मा पौडेल र तत्कालीन इन्जिनियर सुदिप खड्का विरुद्ध पनि मुद्दा दायर भएको छ ।

पौडेल केही महिना अघि मात्र सेवा निवृत भएका थिए । पौडेल र खड्का विरुद्ध भ्रष्ट्राचार निवारण ऐन, २०५९ को दफा ११ अनुसारको कसुर गरेकाले सोही ऐनको दफा ८ को उपदफा १ बमोजिम सजायको माग दावी गरिएको छ ।

आफूले गर्नुपर्ने काम तेस्रो व्यक्तिलाई दिएको, गर्दै नगरेको कामको भुक्तानी लिएको र मापदण्ड अनुसारको काम नगर्ने शुभकामना निर्माण सेवाको प्रोपाईटर सरिता सुवेदी र अधिकारनामा लिई निर्माण कार्यमा संलग्न रघुनाथ शर्मा विरुद्ध पनि मुद्दा दायर भएको छ ।

सुवेदी र शर्मा विरुद्ध भ्रष्ट्राचार निवारण ऐन, २०५९ को दफा ११ अनुसारको कसुर गरेकाले सोही ऐनको दफा ८ को उपदफा १ बमोजिम सजायको माग दावी गरिएको छ । अघिल्लो आर्थिक वर्षमा दाना आयुर्वेद स्वास्थ्य केन्द्रको भवन मर्मत र घेराबार पर्खाल लगाउन योजना परेपनि खरिद प्रक्रिया विपरित काम गरिएको थियो ।

शुभकामना सहित झी र श्रमजीवी निर्माण सेवा गरी ३ वटा निर्माण व्यावसायीसँग कार्यालयले दरभाउपत्र माग गरेको देखाउन खोजेपनि निर्माण व्यावसायीहरूले पेश गरेको निवेदनको मिति तथा उक्त निवेदन कार्यालयमा दर्ता गर्दाको मितिहरूमा केरमेट र सच्चाइएको अनुसन्धानका क्रममा खुलेको थियो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: