आरति आचार्य
ताकम, ४ जेठ ।
दूर दूर पहाडको कन्दरामा,
मुर्झाउन अाँटेको उनिउँ देख्नु भयो भने,
सम्झनुस् त्यो म नै हुँ। अाफ्नै माटोमा,
अलिकति देश र अलिकति विदेश मिसाएर ,
कोही कक्टेल बनाइरहेको छ भने ,
सम्झनुस् त्यो म नै हुँ।
अाफ्नो बेचिएको हात, पाउ र स्वाभिमान
फिर्ता लिन कोही दयाको याचना गरिरहेछ भने ,
सम्झनुस् त्यो म नै हुँ।
म मेरो गाउँमा बाटो पुग्दा जति खुशी ,
कालापानीमा बाटो पुग्दा भएकी छैन।
ती सु-दूरहरुमा कोही असामाजिक र अनागरिक भेट्नु भयो भने,
सम्झनुस् त्यो म नै हुँ।
म एक मात्र उनिउँ होइन ,
म, सम्पूर्ण फूल नफूल्ने प्रजातिहरुका प्रतिनिधि पात्र हुँ।
देश बचाउन भन्दै बन्दुक बोक्दा,
शरीर भित्रै गोली बोकेका ,
अयोग्य नागरिक ,
हर्के काका पनि मै हुँ।
पतिसँगै जनयुद्धमा अाफ्नो सुहाग हराएकी ,
सुन्तली दिदी पनि मै हुँ।
घरको चिसो चुलो फुक्न मुग्लान पसेर,
बाकसमा फर्किने,
धनविर दाइ पनि मै हुँ।
साँच्चै भनाैँ,
म सिङ्गै उनिउँको समाज हुँ।
अलिअलि पानीले भिजेको माटो हातमा लिएर ,
कोही माटोको सुगन्ध लिइरहन्छ भने,
सम्झनुस् त्यो पागल माटो प्रेमी मै हुँ।
देश लुटिँदा ,
अश्तित्व लुटिन्छ,
परिचय लुटिन्छ,
अात्मसम्मान लुटिन्छ।
हामी लुटिइरहँदा,
अब बजारमा देश प्रेमका नयाँनयाँ ठेलीहरु अाइपुग्छन्।
अाफू बेचिँदासम्म पनि ,
कोही भावनामा छताछुल्ल पोखिइरहेको छ भने,
सम्झनुस् त्यो पागल लेखक मै हुँ।
अाउनुस् अाज देश हराएको खुशीमा,
हामी अाफूलाई खोजाैँ।
माटो बेचिएको माहोलमा ,
महफिल जमाऊँ ।
अाज अश्तित्वको अन्तिम दिन,
सायद भोलि देश नरहला,
माटो नरहला,
हामी नरहाैँला,
जय देश!!!