बेनीमा बीस बेडको आइसोलेशन बनाउने कमाण्ड पोष्टको निर्णय कागजमै सिमित

बेनी, २० वैशाख । सरोकारवाला निकायको हानथाप र इच्छाशक्तिको कमीले गर्दा विश्वब्यापी महामारीको रुपमा फैलिएका कोरोना (भाइरस)को लक्षण देखिएका बिरामीका लागि बेनीमा छुट्टै आइसोलेशन वार्ड बनाउने निर्णय कार्यान्वयन हुन सकेको छैन् ।

कोभिड–१९ जिल्ला कमाण्ड पोष्टको वैशाख ६ गतेको बैठकले २० शैया क्षमताको आइसोलेशन वार्ड बनाउने निर्णय गरेको थियो । आइसोलेशन बनाउने ठाउँ छनौट हुन नसकेपछि कमाण्ड पोष्टको निर्णय कागजमै सिमित भएको हो ।

आइसोलेशन कसले कसरी बनाउने भन्ने विषयमा बेनी नगरपालिका र कमाण्ड पोष्टबीच बिवाद देखिएको छ । बेनी नगर कार्यपालिकाको वैशाख ७ गतेको बैठकले १० बेडको आइसोलेशन बनाउने निर्णय गरेको थियो ।

कमाण्ड पोष्टले हाल क्वारेन्टाइन सञ्चालन भएको न्यु वेष्ट पोइन्ट आवासीय माविको भवनमा आइसोलेशन बनाउने निर्णय गरेको थियो । सिडिओ ढकालले गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनको उपस्थितिमा जिसस भवनमा वैशाख ७ गते भएको अन्तरक्रियामा ५ दिनमा आइसोलेशन तयार पार्ने घोषणा गरेका थिए ।

तर विद्यालयका सञ्चालकहरुले अभिभावकको दवाव आएपछि विकल्प खोज्न बिहीबार कमाण्ड पोष्टलाई निवेदन दिएपछि कमाण्ड पोष्ट वैकल्पिक ठाउँ र स्रोतको खोजीमा जुटेको छ । चिकित्सकहरुले अन्य रोगका बिरामीको उपचार प्रभावित हुने भएकाले बेनी अस्पतालसंगै जोडिएको वेष्ट पोइन्टमा आइसोलेशन बनाउन सिफारिस गरेका थिए ।

अस्पताल भित्रै रहेको रक्तसञ्चार गृह, निर्माणाधिन भवनलाई प्रस्ताव गरिएको थियो । निजी विद्यालयमा तयार पारिने संरचना अस्थायी हुने र लगानी मात्र खेर जाने भएकाले दिर्घकालीन हिसाबले काम गर्न प्रदेश सांसद बिनोद केसीले सुझाव दिए ।

आइसोलेशन वार्ड बनाउन उपयुक्त वैकल्पिक स्थानको खोजी जारी रहेको कमाण्ड पोष्टका अध्यक्ष समेत रहेका सिडिओ ज्ञाननाथ ढकालले बताए । ‘कोरोनाको सम्भावित जोखिमलाई मध्य नजर गरेर आइसोलेशन बनाउन आवश्यक छ,’ शुक्रबार बेनी नगरपालिकाले आयोजना गरेको छलफलमा उनले भने ‘उपयुक्त ठाउँको खोजीमा छौ ।’

कमाण्ड पोष्टले वेष्ट पोइन्टमा जोड गर्नुको कारणबारे सिडिओ ढकालले बैठकमा “घरमा राम्री छोरी भएपछि सबै माग्न आउँछन” भनेका थिए ।

सो छलफलपछि आइसोलेशन बनाउन कमाण्ड पोष्टले छनौट गर्ने नगर क्षेत्रको सार्वजनिक पूर्वाधार उपलब्ध गराउने निर्णय भएको छ । ठाउँ छनौट गरेपछि नगरपालिकालेनै आइसोलेशन बनाउने मेयर हरिकुमार श्रेष्ठले बताए ।

छलफलपछि बेनीको खुल्ला मञ्च नजिकैको शैक्षिक तालिम केन्द्रको भवनमा आइसोलेशन बनाउन निरिक्षण गरेका थिए । अस्पतालका चिकित्सकको सिफारिसमा ठाउँ छनौट गरिने कमाण्ड पोष्टले जनाएको छ ।

कमाण्ड पोष्ट नगरपालिका र जिल्लाका अन्य पाँच वटा गाउपालिकाले उपलब्ध गराउने बजेट आफैले परिचालन गरेर सुरक्षा निकाय (नेपाली सेना) बाट बीस बेडको आइसोलेशन बनाउनुपर्ने अडानमा छ ।

नगरपालिकाले आफैले स्रोत परिचालन गरेर दश वेडको आइसोलेशन बनाउने तयारीमा जुटेपछि बिवाद देखिएको छ । आइसोलेशन वार्ड निर्माण, वेड र अन्य सामग्री व्यवस्थापन गर्न कमाण्ड पोष्टले २५ देखि ३० लाख रुपैयाँ लागत अनुमान तयार पारेको छ ।

यसअघि बेनी अस्पतालमा ६ शैयाको आइसोलेशन स्थापना गरिएको थियो । त्यसअघि माउण्ट एभरेष्ट आवासीय माविको हिलसाइडमा रहेको पुरानो भवनमा बनाइएको आइसोलेशन स्थानीयबासीको बिरोध र सडक सुबिधा नभएको भन्दै प्रयोग भएको छैन् ।

अन्य उपचार सेवा प्रभावित हुन नदिन र सुरक्षाका अस्पताल बाहिर छुट्टै ठाउँमा आइसोलेशन बनाउनुपर्ने अस्पतालका प्रमुख चिकित्सक अमृत अधिकारीले बताए ।

कोरोनाका लक्षण भएका र संकास्पद बिरामीलाई स्वाब परिक्षण गरेर रिपोर्ट नआउँदा सम्मका लागि राख्न आइसोलेशन बनाउन लागिएको हो । सरकारले छिमेकी जिल्ला बागलुङको धौलागिरि अस्पताललाई कोरोनाका बिरामीको उपचारका लागि तोकेको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: