उपहार “समय”

सन्दीप खत्री
समय कति बलशाली हुँदो रहेछ, विश्वजगत कोरोना भाइरसले त्राहिमाम नै बनाएको छ । मानिसहरु घरभित्र थुनिएर वस्नु पर्ने बाध्यता छ । कोरोना भाइरसका कारणले अनगिन्ती नकारात्मक प्रभाव पारेको छ । तथापि यतिबेला कोरोनाले पारेको नकारात्मक प्रभाव भन्दा पनि सकारात्मक प्रभावलाई हेरेर चित्त बुझाउनु पर्ने अवस्था छ । यतिबेला मैले पनि कोरोनाले मेरो जीवनमा पारेको सकारात्मक प्रभाव अझ भनौ कोरोनाले “उपहारको रुपमा दिएको समय” को बारेमा चर्चा गर्दैछु ।


देश पुरै लकडाउन भएकाले सधै विहान उठेदेखि रातिअबेरसम्म कम्प्युटरमा व्यस्तताको जीवन, एक हिसाबले भनौ पंक्षीले जस्तै स्वतन्त्रता पायो । झन्डै एक महिना हामी घरभित्र थुनिएर भएपनि सबैले आ–आफ्नै ढंगले समयको सदुपयोग अवश्य ग¥यौ । कैयौन वर्षदेखि परिवारलाई दिन नपाएको समय प्रशस्त दिन पायौ । घरपरिवारका सदस्यहरुवीचको सम्बन्ध अझ मजबुद बनाउन पायौ । प्रशस्त स्मरणयोग्य कामहरु भए तर मैले भने एक पटक आफूलाई १० वर्ष पहिलेको अवस्थामा फर्काउने प्रयास गरे । नयाँ ठाउँमा जाने, केही नयाँ अनुभव बटुल्नु मेरो शोख नै हो । तर यस पटक भने मैले नयाँ ठाउँमा गएर नयाँ अनुभव बटुल्ने भन्दा पनि पुरानो ठाउँमा गएर पुराना दिनहरुलाई दिमागमा पुर्नताजगी गर्ने प्रयास गरे । एक पटक बालापनका दिनहरु सम्झने प्रयत्न गरे ।


हामी गाउँमा जन्मिएका मानिसहरुको बालपानको उमेर घर र विद्यालय पछि धेरै समय व्यतित गर्ने ठाउँ भनेको वनजंगल नै हो । समय परिस्थिती अनुसार घाँस काट्ने, दाउरा काट्ने, त कहिले सोत्तर काट्ने, पस्र्याैला सोहोर्ने, भैसी–गाइ–बाख्रा चराउने बाहनामै किन नहोस् । हाम्रा कैयौ अतितहरुका पानाहरु यिनै वनजंगलसँग जोडिएका हुन्छन् । विहान उठ्यो वनजंगल गयो, आयो खाना खायो र विद्यालय गयो । विद्यालयबाट घरमा आएपछि खाजा खाएर वा खाजालाई गोजिमा हालेर फेरि वनजंगल नै गयो । यसरी नै झन्डै ८÷१० वर्ष जंगलसँग जोडिएको सम्बन्ध २०६६ सालमा एसएलसी उत्तिर्ण गरि बजार झरेपछि एकाएक टुटेको थियो । तर कोरोना भाइरसले फेरि त्यो सम्बन्ध जोड्ने मौका मिल्यो । मातातिर्थ औशीको अवसरमा लामो समय पछि घरमा जाने अवसर जु¥यो । घर नजिकै घना वनजंगल भएकाले एक नजर वनजंगलतिर पुग्यो । मानस्पटलमा पुराना स्मृतिहरु धुमिल तस्विरका रुपमा उपस्थित भए ।

झण्डै झण्डै विर्सन लागेका यादहरु मानस्पटलमा नाँच्न थाले । एकाएक दिमागमा आयो किन जंगलमै गएर ति यादहरु पुनर्ताजगी नगर्ने ? दिन धुमिल नै थियो, कतिबेला पानी पर्ला झै भएको थियो, तर पनि यो मनले आट्यो भने आट्यो । मेरो साईलो दाई नविन, भतिज मनोज, रिजन, मामाको छोरा सुदिपलाई कुरा शेयर गरेपछि सबैजना तयार भए । भान्जाबाबु दिप्सनले पनि जाने इच्छा व्यक्त गरे । बाबा र ममिले “अरु त केटा केटी नै भए तैलेपनि के केटाकेटी पारा लाको” भन्दै हुनुहुन्थ्यो, हुन पनि म साँच्चि केटाकेटी नै भएको थिए किनभने सानै उमेरदेखि वनजंगलमा जाने भनेपछि हुरुक्क हुने मान्छे हुँ म । अपर्झट योजना बन्यो, सबैकुराको बन्दोवसत मिल्यो र दिनको पौने ३ बजेतिर यात्रा जंगलतिर ओरालियो २ रात जंगलमै वस्न गरि । यात्रा तय भयो रातडाँडाको, हामीले खरकाट्नका लागि प्रयोग गर्ने अत्यन्तै सुन्दर ठाउँ थियो, जुन ठाउँ राहुघाट खोला नजिकै पर्छ ।


पानी पर्नै आटेको थियो, घरबाट हिडेको आधा घण्टा नवित्दै परिहाल्यो, पानीमा भिज्दै भएपनि गयौ । ओरालोबाटो, चिप्लोबाटो तैपनि दौडिरह्यौ । अलि तल पुग्दै थोप्ले (हाम्रो घरमा पालेको कुकुर) पनि हामीलाई भेट्न आईपुग्यो । गन्तव्य स्थलमा पुग्दा पानी विदा हुनै लागेको थियो, बस्ने स्थल बनाउने भनेर खोज्दै थियौ, तर ठाउँ हेर्न पाउँदा नपाउँदै पानी खन्याएझै दर्कन थाल्यो । पूर्वनिर्धारित योजना नभएकाले टेन्ट लैजाने अवस्था थिएन त्यसैले घरबाट २ वटा त्रिपाल लगेका थियौ । एउटा पालले सामान छोप्यौ र एउटा पाललाई समाएर कोहीले खाँबो गाड्ने खाडल खन्यौ, कोही खाँबो र अन्य आवश्यक काठ काट्न लाग्यौ । बनाउन खोजेको टेण्ट जस्तै तर ठूलो झरिका बीचमा झन्डै १५ मिनेटमा बन्यो गोठ । गोठको बसाईले भने नयाँ अनुभव दिने पक्का थियो । वस्ने स्थान निर्माण गरेपछि पनि पानी पर्ने क्रम नरोकिएकाले हामीले अरु केही गर्ने अवस्थामा थिएनौ त्यसैले पानी विदा हुने समय कुरिरह्यौ ।

पानी विदा भएपछि सबैभन्दा पहिले त खाजा, खाना बनाउने चुल्हो वन्दोवस्त गर्नु थियो, दाउरा काट्नु थियो । त्यसैले कोही दुई ठुला ढुङ्गा लिएर चुल्हो बनाउन लाग्यौ कोही दाउरा खोज्न लाग्यौ । लगभग सबैकुराको व्यवस्थापन भईसक्दा घडिले साँझको ६ बजाउनै आटेको थियो । पानी परेकाले मौसम एकदमै चिसो थियो ।
जंगलमा गएपछि जंगलकै केही चिज त चाख्नु प¥यो नी यति भन्न नपाउँदै मनोज, रिजन, सुदिप तिजु खोज्न हानिए । तिजु खानकै लागि शनिबार दिनभर झोला बोकेर ४,५ जना साथीभाइ मिलेर यही ठाउँमा आएको याद पुनरावृत्ति भयो । आमाले खर काटेर घर फर्कदा धरोको एककुनाबाट “कान्छा तेरो लागि ल्याईदिएको तिजु ला” भन्दै काखमा राखेर तिजु खुवाउनु भएको हिजो जस्तै लाग्यो ।

हामी बसेको ठाउँभन्दा अलि तलको तिजुको रुख थियो कसले हो कुन्नी सबै हांगा काटिदिएछ, बेसी तिजु त्यही रुखमा पाइन्थ्यो । तर त्यहाँ चढ्न जोखिम पनि उत्तिकै थियो । “वान मिस लाईफ फिनिस” भने जस्तै थियो, तल सिधै रघुगंगा खोला । एकैछिनमा केटाहरुले अलिकति मात्रै तिजु लिएर आए । रात पनि पर्न आटेको र पानी परेका कारण रुख चिप्लो भएकाले त्यो साँझ त्यत्तिमै चित्त बुझायौ । साँझ ढल्किदै थियो, नविन दाइले खाना बनाउन सुरु गर्नु भयो, मनोजले घरबाट ल्याएको लोक्कल कुखुरा बनाउन, रिजन क्याम्प फायरको तयारीमा । एकैछिनमा मनोज मादल लिएर घन्काउन थाल्यो, चराचुरुङ्गी वास वस्नका लागि चिरविर–चिरविर गर्दै थिए । रात ढल्किदै गयौ वातावरण संगीतमय बन्दै गयो । हाम्रो परिवार संगीतप्रेमी नै छ । कलाको क्षेत्रमा पोख्त त कोही छैनौ तर सामान्य गाउँन, बजाउन र नाच्न नजान्ने पनि कोही छैनौ । सबैजनामा केही न केही गुण अवश्य पनि छ । “शिरमा रिवन, बेनीको बजार, छिनको छिनैमा, बनको काफल बनको चरिलाई, असारे महिनाम पानी प¥यो, घरआगन” लगायतका गीतहरुको तालमा रातको १२ बज्नै आटेछ । त्यहाँ हामी कोही पनि दाइ–भाइ–अंकल–भतिज–मामा–मान्जा थिएनौ, थियौ त केवल सबै दौतरी । ११ वर्षका भन्जादेखि लिएर ३३ वर्षको दाइसम्म हामी सबै एउटै दौतरी भएर रमिरहेका थियौ ।


भोलिपल्ट विहानको झन्डै साढे चार वा ५ बजेको हुँदो हो, चराहरुको चिरविर चिरविर आवाजले निन्द्रा खुल्यो, मोबाईलमा बज्ने गरेको ६ बजेको आलरार्मले फेल खायो । जीवनमा पहिलोपटक त्यसरी जंगलको वीचमा नै रात कटाइएको थियो । चराचुरुङ्गीको आवाजले मनमा छुट्टै तरङ्ग पैदा ग¥यो, मन रोमाञ्चित भएको थियो । चराहरुको चिरविरले वातावरण संगीतमय भयो । धेरै लामो समयपछि स्वच्छ हावाको झोक्काले छोएको थियो, मन शान्त, ज्यान एकदमै हल्का भएको थियो । लाग्दथ्यो वास्तविक जीवनको उमंग यही हो । आँखा चिम्म गरेर हावालाई सकेजति स्वासको मार्फत लिएँ । रघुगंगा खोला नजिकै भएकाले सम्भव भएसम्म माछा मारेर ल्याउने योजना सहित म, मनोज, रिजन र सुदीप खोलातर्फ लाग्यौ । पहिले हामी खरकाट्न आउने ठाउँ थियो रातडाँडा, आजभन्दा १०÷१२ वर्षपहिले ठूलो खालि ठाउँ थियो तर यतिबेला भने जंगल गजबसँग भरिएछ । पहिले खोलामा जाने ठूलै बाटो थियो तर अहिले बाटो कताबाट थियो भन्ने कुरा एकिन गर्न गाह्रो भयो । अनुमानकै भरमा पाईलाहरु खोलातर्फ सोझिए । खोला नजिकै पुग्नेबेलामा बनतरुलको ठुलै बेली देखियो । विहानदेखि खोज्दा नभेटिएको वन तरुल भेटिएपछि नखन्ने कुरै भएन ।

हामी तरुल खन्ने योजनामा नभएकाले तरुल खन्ने हतियार केही थिएन, तर बालापनदेखि हातै वा काठको खन्ती खन्ती (तरुल खन्न प्रयोग गरिने साधन) बनाएर खनेको अनुभव चाहि प्रशस्तै थियो । मनोजले २ वटा काठको खन्ति बनायो सुदिप र मनोज एकातिर म र रिजन अर्कोतिर भएर २,३ ठाउँमा खन्न थाल्यौ । माटो र धुलै हुनेगरि अझ भनौ घरमा पुग्दा आमाले नचिन्ने अनुहार हुन्थ्यो हाम्रो तरुल खन्दा । कैयन पटक पदम विश्वकर्मा र म यसरी नै ६,७ कक्षामा पढ्ने बेलामा तरुण खन्न आएको याद छ । यसपटक पनि अनुहार, शरिर त्यो बालापन भन्दा पटक्कै फरक थिएन, धुलै, मैलै तर सारथी फरक थिए, परिवेश फरक थियो । यो तरुल खन्ने समय पटक्कै होईन तर हामी जबरजस्त खन्दै थियौ । धेरै लामो समयको अथक प्रयासपछि बेलुकाको तरकारी एकछाक पुग्ने गरि तयार भयो ।


हाम्रा जिजुबाजे पनि गोठ लिएर नै औलमा वस्दा सायद यस्तै गर्दा हुन त्यही अनुभूति भयो । बालापनमा पनि गोठ वस्ने प्रशस्तै प्रचलन भएपनि हाम्रा परिवार भने त्यसबाट टाढै थियो । यतिबेलासम्म हामी बालापनमा फर्किएका थियौ । मनमा केही कुराको डर थिएन, केही पिरचिन्ता थिएन, भोक प्यास केहीले छोएको थिएन । हामी पुरापुर स्वतन्त्र थियौ । न्याउली चरीको “न्याउल” “न्याउल” वरिपरि नै गुञ्चायमान भईरहेको थियो । केटाहरु सबै आआफ्नो तालमा, म आफ्नै पारामा गुनगुनाउँदै थिए, मनोज र सुदीपले सुशेली हाल्दै थिए, रिजनले गुलेली समाएर चरा मार्ने असफल प्रयास गर्दै थियो । यसरी नै कैयन पटक दिनभर लगाएर कहिले झोला भरि तरुल त कहिले खालि झोला बोकेर घरमा अनुभवहरु एकाएक ताजगी भए । बालापनका साथीहरुसँगका उट्पट्याङ पनि मथिङगलमा घुमिरहे । खोलामा जान हिडेका हामी बाटोमा तरुल खन्दाखन्दै जाडो बढ्न थालेपछि र पानी पर्ने संकेत देखिपछि माथि नै फर्किने निर्णय ग¥यौ । उकालो चढ्न निकै गाह्रो भयो यी तिनै बाटाहरु र भिरहरु थिए जहाँ को छिटो माथि जाने भनेर हामी वीच प्रतिस्पर्धा हुन्थ्यो, कसले छिटो भिर काट्ने भनेर उकालो चढ्थ्यौ, जोश त्यही थियो, मन त्यही थियो तर खुट्टाहरुले साथ दिएनन् ।

दोस्रो रातको बसाई केही विशेष नै हुँदै थियो किन भने तरुल पाक्दै थियो । खाना बनाउनमा माहिर नविन दाइले अनेकन परिकारहरु बनाउँदै हुनुहुन्थ्यो । भान्जाले दिनभरको आफ्ना अनुभवहरु सुनाउँदै थिए, गुलेली समाएर वन चाहरेका, जसले पुरानो दिनको याद गरायो । हामीहरु चरा मार्न भनेर दिनभर ढुङ्गा कुदेर गोलि बनाएर यसरी नै वन डुल्थ्यौ तर सिकार भने शुन्य । भान्जाको हालत पनि यही थियो । दिनभरमा ५० भन्दा धेरै निसाना खेर गएछन् । भोलिपल्ट त घरमा जानु थियो त्यसैले सबैले दिल खोलेर रमाईलो ग¥यौ रिजन र मेरो दोहोरी पनि निकै जम्यो, नविन दाइको यानिमायाले छुट्टै छनक दियो । सम्भवत जंगलको बीचमा बसेर यसरी रमाईलो फेरि होला नहोला तर यस भन्दा पहिले भने कहिल्यै पनि भएको थिएन । पारिपट्टी मौवाफाँट, राखु, बाँसखर्क लगायतका वस्तिहरुमा एकपछि अर्को गर्दै सबै वत्तिहरु निभ्दै गए त्यसपछि बल्ल थाहा भयो की हामीले त खाना नै खाएका छैनौ । रातको साढे ११ बजे खाना खायौ । म त विहानै उठ्नु पर्छ भनेर सुतिहाले मनोजहरु मादल बजाउँदै थिए कतिबेला सुते पत्तो पाईन ।


बेलुकाको अबेल बसाई र तरुल खनाइएको थकानले विहान साढे पाँचबजेतिर निन्द्राले छाड्यो । चराचुरुङ्गीहरु लगभग सबै आआफ्नो वासस्थानबाट उडिसकेका थिए, वातावरण स्वच्छ थियो, आकाश पुरै खुलेको थियो । सबै सामान प्याक गरेर घरतिर उकालियौ । आउनेबेलामा हामी गाउँहुँदै आएका थियौ जानेबेलामा भने हामी घाँस दाउरा गर्दा हिड्ने बाटो हुँदै जाने निधो ग¥यौ । यो दश वर्षमा जंगल धेरै परिवर्तन भएछन् । खुल्ला घाँस काट्ने डिल, चौरहरुमा पानीअमला र बनमाराले अड्डा जमाएछ । टंकीखोला, ठूलो खोला यिनै खोलाहरु पार गर्दै जानु पथ्र्यो । घाँस काट्न आउँदा पानीको ताल बनाएर कतिपटक पौडेका थियौ । बाटो भरी स्याउला भरिएछ, रुख उम्रिएछन् ।
लामखोरियातर्फ उकालो लाग्दै गर्दा खानीको डिल देखियो । हामीले लुकीलुकी घाँस काट्ने भिर थियो । घाँस काट्न आउँदा पानी पर्दा बस्ने ओढार अलिक तलथियो । यो त्यही भिर थियो जहाँ हामीले कसले छिटो भारी पु¥याउने भनेर प्रतिस्पर्धा गथ्र्यौ । मलिन रोकालाई सबैभन्दा बढी सम्झिए मैले, उनी मेरा सबैभन्दा मिल्ने बालशखा थिए ।

उनी र म एउटै टिममा भयौ भने चाहे घाँस काट्न होस्, भलिबल खेल्न होस्, फुटबल खेल्न होस्, क्रिक्रेट खेल्न होस्, दाउरा काट्न होस् कसैले पनि जित्न सक्दैनथे । पहिले गाउँमा भन्दा जंगलमा चहलपहल र प्रशस्त बाटाका चोकहरु हुन्थे । घाँस काट्न जाँदा गुच्चा, खोप्पी र राज्य खेलेका जंगलभित्रका चोकहरु यतिबेला सुनसान थिए । हामीले खानेका खाल्डाहरु कति भरिएर हराईसकेका थिए त कति हराउने क्रममै थिए । बाटोको कुनै निशाना थिएन, वस अनुमान लगाएर मात्र हिड्न सकिन्थ्यो । अलिक माथिपुगेपछि हामीले प्रतिस्पर्धा गरेर चढ्ने गरेको रुख भेटियो । अहिले त हर्लक्क बढेर अंगालोमा हाल्दा पनि नभरिने भएछ । म, मलिन, किस्मत, गणेश, डेके, राजु, याम, लाले, बद्री, पदम, रबि, सलिन, बले लगायतका साथीहरु पार्टर थियौ । स्याउला काट्न र घाँस काट्न वेशी आउने गर्दथ्यौ । दाइहरु मदन, राजिन खत्री, भिम, कृष्ण विश्वकर्मा लगायतको ग्रुप पछि त्यो वन जंगल हल्लाउने टिम थियो हाम्रो । लामखोरियामा एउटा गोठ थियो पानी पर्दा बस्ने, तर अहिले त भग्नावशेष मात्रै बाँकी रहेनछ । कयौ पटक विहान घाँस काट्न आएर भारी पु¥याएर गुच्चा र खोप्पी खेल्दा खेल्दै विद्यालय नगईकन १०÷११ बजेका यादगार पलहरु घुम्न थाले । रात परेर आमा बाबाहरु खोज्न आएका पलहरु पनि कम्ति छैन् । यो जंगलसँग छुट्टैप्रकारको साईनो थियो, यतिबेला मनमा छुट्टै प्रकारको अनुभूति भयो । यति बेला मसँग समय थियो, त्यही बालपन विताएको ठाउँ थियो, सबै साथीभाइ एकसाथ भएर ती यादहरु ताजा गर्ने कोरोनाले अवसर दिएको थियो तर थिएनन् ती बालसखाहरु ।


सकेजतिको भारी बोकेर एक घण्टामा उक्लिने बाटो यसपटक भने रित्तो ज्यान हुँदा नि झन्डै पौने २ घण्टा लाग्यो । विहानदेखि बेलुकासम्म कम्प्युटरमा वसेको र शरीरलाई व्यायाम चाहिएको गतिलो महसुस भयो । यो त्यही उकालो थियो जहाँ हामी कसले भारी नविसाईकन उक्लने भनेर हिड्थ्यौ । म र मलिन नै प्रायः पहिलो र दोस्रो हून्थ्यौ । घाँस राहै्र राम्रो हुन्थ्यो यहाँ । यहाँको घाँस काटेर लैजादाको दिनमा एक डाडु दुध धेरै खान पनि पाइन्थ्यो, यहाँको घाँस खाँदा दिनमा भैसीले पनि दुध अलिक बढी नै दिन्थ्यो । साँच्चि यसपटकको प्रकृतिसँगको प्रत्यक्ष साक्षात्कारले जीवनभरलाई पुग्ने बालपानका यादहरु ताजा गराइदियो । बालसखाहरु कहाँ छन् कहाँ तर उनीहरुसँगको सम्झना भने ताजा भयो । कतिपय बालसखाहरुसँग त सम्पर्क पनि हुन नपाईरहेको बेलामा जंगलको बसाईले पुरै बालापन याद गराईदियो । धुमिल बनेर स्मृतिका बसेका ती यादहरु पुन कहिल्यै नमेटिने गरी ताजा भएका छन् । केही समय भएपनि सारा दुनिया भुलेर निस्फ्रिक्री र निश्चिन्त भएर आफ्नो बालापनको सम्झनामा रम्ने अवसर प्राप्त भयो । यी अनमोल पलहरु यी शब्दमा कहाँ अटाउँन सकिन्छर, मन भित्र भएको अनुभूति, आभाष कहाँ बाड्न सकिन्छ र यद्यपी यी अक्षरहरु मार्फत यादलाई ताजा राख्ने प्रयास भने भयो । धन्यवाद कोरोना तिमीलाई यो सुन्दर समय उपहारका लागि, प्रिय बालसखा साथीहरु सबैलाई धेरै सम्झना छ है……………..

 

Leave a Reply

Scroll to Top
%d bloggers like this: