भकुण्डेको सम्झना

 सन्दीप खत्री
होमस्टे भन्दा साथ अर्गानिक खानाको याद आउँछ र होमस्टेमा विशेषगरी अर्गानिक नै खान पाईन्छ पनि । पछिल्लो समयमा नेपालमा अर्गानिक खानाकै कारण धेरै आन्तरिक पर्यटकको रुपमा नेपालीहरुमा होमस्टे घुम्ने बानी बसेको छ । पूर्वदेखि पश्चिम सम्मका मानिसहरु घुम्ने क्रममा ठूला होटलको तुलनामा होमस्टे खोजी खोजी पुग्ने गरेका छन् । त्यही क्रममा हाम्रो पनि झन्डै २ वर्ष अगाडी बाग्लुङ्ग नगरपालिका १० स्थित भकुण्डे होमस्टेमा जाने योजना बनेको थियो तर पुरा हुन सकेको थिएन ।


भदौको महिना, सिमसिम पानी, रात झपक्कै परिसकेको थियो, कच्ची र हिलो बाटो, त्यसमाथी बाईकको लाईटमा समस्या आएर पास लाईट बालेर हिड्नु पर्ने, नयाँ बाटो भएकोले बाईकको स्पिड बढाउन सक्ने अवस्था थिएन, त्यसमा पनि बाटो खाल्डा र खुल्टी, ढुङ्गाहरु चिने जस्तै तर पनि यात्रा बडो रमाईलो थियो, बागलुङ भकुण्डेसम्मको । यात्राको चाजोपाँजो मिलाएका थिए बागलुङका पत्रकार राम थापा र दिल शिरिष दाइले।


मालढुङ्गामा तीन बजे भेट्ने कुरा भएपनि विविध कारणले हामी साढे पाँचबजे बल्ल मालढुङ्गामा भेटभएका थियाँै । बेनीबाट म, सन्तोष गौतम, कमल खत्री, पर्वतबाट लक्ष्मण सापकोटा, बागलुङबाट राम थापा, दिल शिरिष र नारायण रिजाल थियौ । लक्ष्मण र नारायण जीसँग मेरो पहिलो भेट थियो । मेरो बाईकमा म कमल, राम दाइ र दिल दाइ, नारायण, सन्तोष र लक्ष्मण जि एक्लाएक्लै ।

मालढुङ्गाबाट झण्डै ६ बजे यात्रा भकुण्डेतर्फ सोझियो । केही कि.मि. पक्कीबाटो हिडेपछि कच्चीबाटो सुरु भयो । सिधै उकालो हेर्दा पनि आङ्गै सिरिङ्ग हुने खालको । त्यो बाटो छिचोलेपछि भने बाटो केही सजिलै रहेछ । सक्ने जति स्पिडमा थियौ किन भने रात झपक्क पर्न आटेको थियो, आकाश पनि गड्याङ र गुडुङ् गर्दै थियो । तर जति स्पिड हिडेपनि रात झपक्क परिहाल्यो, सिमसिम पानी पनि, बाटो पनि अप्ठेरो सुरु भयो । रातको समय हुनाले कताकता हुँदै अगाडी बढियो भन्ने कुरा भने मेसो पाईएन । केही माथि पुगेका थियौ बाटो चिप्लो र निकै उकालो भएकाले राम दाईको बाईकले तानेन् । धेरै मेहनत पछि बल्ल तल्ल बाईक त माथि उकाल्यौ, तर बाईक माथि ल्याएपछि स्टार्ट पटक्कै भएन । बल्ल तल्ल स्टार्ट भएपछि म र कमल पनि हिड्यौ, नारायण जि र लक्ष्मण अगाडी गईसकेका थिए, राम दाई र सन्तोष विस्तारै आउँदै गरौं भनेर । अलिक माथि पुगेपछि २ वटा चोक रहेछ कताजाने पत्तो भएन । पछिका साथीहरु आएपछि जाउँला भनेर धेरै बेरसम्म कु¥यौ तर आउनु भएन । त्यहाँबाट बागलुङ बजार राम्रो देखिदो रहेछ । रातमा बडो धपक्क बलेको थियो बागलुङ, उकालो छाडेर यतै आउँ भन्ला झै गरि लोभ्याईरहेको थियो । झन्डै आधा घण्टा कुर्दा पनि नआएपछि फोन गरेको फेरी बाईक स्टार्ट भएनछ । अब के गर्ने आपत् नै प¥यो । घनाजंगल छ जस्तो लाग्यो यताउति हेर्दा, नजिकै घर, गाउँ केही पनि थिएन । बाईक त्यही राखेर जाने अवस्था पनि थिएन, तर भगवानको कृपा भनौ धेरैबेपछि बल्ल बाईक स्टार्ट भएपछि हिड्यौ ।


पानी परेर विदा भईसकेको थियो, तर बाटो भने हिलाम्मे नै बनाएको थियो । नारायण जि गन्तव्य स्थल पुगेर हामी ढिला ग¥यौ भनेर लिन आईसकेका थिए । नाराण जि आएपछि उनैलाई पच्छ्याउँदै झन्डै साढे आठ बजेतिर भकुण्डे पुग्यौ । गण्डकी प्रदेशका अर्थमन्त्री किरण गुरुङ पनि कार्यक्रमको शिलशिलामा आएका रहेछन् । हामी एकदमै थकानमा थियौ त्यसैले भोलि विहान भेट्ने सल्लाह गरि होमस्टे तिर लाग्यौ । होमस्टे भन्दा केही तल बाईक राख्नु पर्ने रहेछ । हिडेर झन्डै ५÷१० मिनेटमा पुगिने रहेछ । बाटो भने उकालो नै थियो । स्थानीय व्यवस्थापन र हाम्रो स्वागतका लागि उमाकान्त शर्मा तैनाथ थिए उनी स्थानीय पनि भएकाले हामीलाई निकै सजिलो भयो । उनले हामीलाई होमस्टेतर्फ लगे, स्थानीय दिदीहरु हाम्रो स्वागतका लागि माला बुन्दै हुनुहुन्थ्यो । हामी निकै नै थकित भएका थियौ, त्यसैले पनि सकेसम्म छिटो आराम गर्ने विचारमा थिए म । स्थानीय दिदीहरुको भव्य र न्यानो स्वागतले उर्जा थप्यो जसले बाटोमा पाएका पीडाहरु विर्सिए, फुल, अविर र मालाको आतिथ्यताले मनै प्रशन्न भयो । पत्रकारको ग्रुप भनेपछि सामान्यतया मानिसहरुको स्वागत पनि अलि विशेष नै हुन्छ ।
स्थानीय स्वागतपछि उमाकान्त जिले खाजा खान आग्रह गरे । खाजा भन्दा पनि खाना खाएर आराम गर्ने सोचमा थिए म तर साथीहरुले कहाँ सजिलै सुत्न दिन्थे र ! बाटोको थकान मेटाउन स्थानीय उत्पादन कोदोको झोल्य पदार्थ खाने प्रस्ताव आयो । सबै तयार भएपछि म पनि गाउँमा प्रचलित भनाई “हासको माझमा बकुल्लो” जस्तै हुने अवस्था सिर्जना भएपछि सबै तयार भयौ । भकुण्डेमा जेजे बन्छन्, जे जे खान पाईन्छ सबै लोक्कल अर्गानिक नै हुँदो रहेछ । बाह्य उत्पादन प्रतिबन्ध जस्तै रहेछ । स्थानीय उत्पादन आलु, भटमास, मकै, मुला लगायतका परिकारको साथमा शुद्ध नेपाली पेय पदार्थको स्वाद लिइयो । मित्र अर्जुन र राम दाइ हिरो अफ द साँझको घोषणा भयो । अर्जुन र राम दाइ बाहेक हामी सबै खाना खाएर सुत्यौ राम, लक्ष्मण कतिबेला सुते पत्तो भएन उमाकान्त उनीहरुको साथी भएको हुनुपर्छ ।

बेलुका जतिसुकै बेला सुतेपनि विहान भने ५ बजे नै निन्द्राले छाड्ने बानी छ मेरो । उठेर बाहिर हेरे बडो आनन्द आयो । म झन्डै एक डेड वर्ष पछिको बजारबाहिरको यात्रा थिए । व्यवसायमा लागेपछि घुमफिर र लेखाई पूर्णतया बन्द जस्तै भएको थियो । पहिला–पहिला चाहे समाचार संकलनको लागि होस् या घुम्नकै लागि निकै गाउँ निस्कने मान्छे हुँ म । नयाँ नयाँ ठाउँमा जानु, घुम्नु मेरो औधी रुचिको विषय पनि हो । त्यसैले पनि भकुण्डेले मलाई निर्क आकर्षित गरेको थियो । अझ भनौ न म एकदमै प्रफुल्लित भएको थियो । भकुण्डे आफैमा सुन्दर गाउँ रहेछ । तर विडम्बना बादलले ढपक्क ढाकेको थियो । विहानै भकुण्डे भ्यूटावरबाट सूर्योदय लगायतका दृश्यहरु हेर्न जाने योजना थियो तर बादलले योजना तोड्दै थियो । सबैजना उठीसकेपछि चिया खाएर भ्यू टावरतर्फ लाग्यौ । भ्यू टावरतर्फ जाँदै गर्दा बाटोमा देखिने विभिन्न स्थानहरुको आ–आफ्नै ऐतिहासिक महत्व रहेछन् । उमकान्त जीले ती सबै हामीलाई बताउँदै थिए । रामदाइको ग्रुप भने पछि पछि नै आउँदै थियो किन भने हिजोको ह्याङ्गले राम्रोसँग छाडेको थिएन होला । भ्यू टावरमा जानका लागि पदमार्ग निर्माणको कार्य पनि जारी रहेछ । बडो आकर्षक र सुन्दर तरिकाले निर्माण जारी थियो पदमार्गको । चिप्लो बाटोमा लड्दै उकालो उक्लीरह्यौ । घनाजंगलको वीचमा एउटा सुन्दर टावरमा पुग्यौ, त्यही रहेछ भ्यू टावर । सेतो कलरले रङ्ग्याइएको तीनतले भ्यूटावर थियो । तर यसो हेर्दा अझै केही निर्माणको काम बाँकी छ की जस्तो महसुस भने भयो । जब टावर नजिकै पुगे एकाएक बालपनको याद आयो, किन भने टावरका भित्ताहरु साहित्यले भरिएका थिए । विद्यालय पढ्ने उमेरमा हामीलाई पनि ट्वाईलेटमा त्यस्तै उटपट्याङ गर्न मन लाग्थ्यो । अनेक थरी लेख्न मन लाग्ने, अनेकथरी चित्र बनाउन मन लाग्ने, आफ्नो र अरुको नाम जोडेर लेख्ने वा अरु कसैले लेखिदिए हुन्थ्यो नि भन्ने चाहा हुने । त्यहाँ पनि ठ्याक्कै त्यस्तै थियो । सायद टावरको तल्लो भागमा लेख्ने र केर्ने ठाउँ बाँकी थिएन, सबै भरिएको थियो ।


टावरबाट प्रशस्तै स्थानहरु, एक दर्जन भन्दा धेरै हिमश्रृङखलाहरु, म्याग्दीको बेनी, पर्वतको कुस्मा समेत देख्न सकिने रहेछ, साथीहरुको वर्णन त्यही भयो । तर बादलले ढाकेका कारणले नजिकको घना जंगल, सेतो बादल बाहेक केही देखिएन । भ्यूटावरमा जढेर जे जति देखियो मनमा भने आनन्द नै छायो । त्यहाँबाट प्रकृतिका अनुपम कैयन दृश्यहरु हेर्न त पाइएन तर स्थानीहरुको न्यानो स्वागत, अर्गानिक खाना लगायतका केही ऐतिहासिक कुराहरु भने हेर्न पाइयो । भकुण्डेमा भ्यूटावर सहित भैरव मन्दिर, सामुदायिक वन, बराह ताल, दलको शिव मन्दिर, सिताके च्याऊ, हिराताल लगायतका पर्यटकीय स्थलहरु हेर्न पाइने रहेछ । टावरबाट फर्कदासम्म भोकले साह्रै गलाएको थियो । होमस्टेमा आउँदासाथ होमस्टे सञ्चालक दिदीले प्रेमपूर्वक फेरि चिया र थालमा सेल रोटी र अचार ल्याईदिनु भो । सेल रोटी रहेछ स्थानीय उत्पादन कोदोको, अचार अर्गानिक आलुको । यसभन्दा पहिले मैले कहिल्यै पनि कोदोको रोटी खाएको थिईन । त्यसैले पनि होला निकै स्वादिलो लागिरहेको थियो । अरुले भन्दा अलि धेरै नै खाएक्यारे मैले । आलुको अचारमा पनि फरक स्वाद थियो ।


भकुण्डेको यात्रा छोट्टाउँदै हामी फर्कने तयारीमा थियौ । स्वागत पनि विदाई पनि कस्तो राम्रो संस्कार । नेपाली संस्कार अनुसार पाहुनालाई देवता समेत मान्ने प्रचलन छ । त्यहाँ पनि त्यही अनुभूत भयो । अविर र माला सहित मिठो मुस्कानले विदाई गर्नु भयो । हामी पनि फेरि आउने बाचा सहित होमस्टे सञ्चालक दिदीलाई धन्यवाद ज्ञापन गदै त्यहाँबाट विदा भयौ । त्यसपछि मगर कला र संस्कृतिको संरक्षणका लागि बनाइएका संग्रहालय हे¥यौ । त्यहाँ जनजातिहरूको संस्कृति झल्कने संग्रहालयका साथै प्रत्येक शुक्रबार मगर संस्कृतिमा आधारित नृत्य र गीतसंगीत प्रदर्शन गर्ने गरी गरिएको रहेछ तर बिडम्बना हामीले भने त्यो पनि हेर्ने अवसर पाएनौं । त्यो दिन गाउँमा पनि अन्य कार्यक्रम भएकाले हामी त्यो अवसरबाट छुटेका थियौ ।


अर्थमन्त्री किरण गुरुङसँगको एकछिनको भेटघाट पछि कता–कता जाने छलफल पनि हाम्रो यात्रा बराहताल तिर सोझियो । बराहतालमा जाने २,३ वटा बाटो रहेछ । तर हामी अलिक अप्ठ्यारो बाटो हिडेछौं । ओरालो झर्न साह्रै कठिन भयो । बाईकमा भएका साथीहरुलाई हिडाँएर बाईकलाई ओरालोमा लानु पर्ने भयो । बाटो पनि यति ओरालो थियो की त्यसमा पनि बाटोमा ठुला ठूला ढुङ्गा । बल्ल तल्ल बराह तालमा पुग्यौ । १ हजार ३ सय मिटर उचाइमा रहेछ । पहिले त त्यहाँ बोटिङ्ग पनि हूँदो रहेछ । हामी त्यहाँ पुग्दा केही भाइ, बहिनीहरु पौडी खेल्दै थिए । गर्मी र शनिबार भएकाले उनीहरु रमाईलो मानि मानि पौडिरहेका थिए । उमाकान्त पनि त्यहाँसम्म हामीसँगै गएका थिए । पर्यटनको प्रशस्तै सम्भावना बोकेको रहेछ भकुण्डेले । बराहतालले पनि त्यही प्रतिबिम्वित गर्दै थियो । एकछिन बराह तालमा टहलियौ ।

स्थानीयहरुले बराहतालको ऐतिहासिक महत्वका बारेमा दर्साए । जतिहेरेपनि आँखाहरु अघाउने पक्षमा थिएनन्, मन त्यो ठाउँमै वस्न चाहन्थ्यो, पाईलाहरु त्यो ठाउँलाई छाडेर अगाडी बढ्न चाहेका थिएनन् तर पनि दिन ढल्किदै गएकाले त्यहाँबाट उमाकान्तलाई त्यही विदा गर्दै ओरालियौ । बराहतालबाट केही तलमात्र के आएका थियौ बाटो उस्तै रहेछ, बडो अप्ठेरो । जंगलहूँदै ओरालो झर्नु पर्ने । जंगलभित्रको हाम्रो प्रवेशसँगै पानी घोप्ट्याएझै वर्षन थाल्यो । मनमनै सोचे हिजो आउँदा पनि पानीले स्वागत ग¥यो आज जाँदा पनि पानीले नै विदाई गर्दै छ कस्तो मिठो पल । ओरालो झर्दै थियौ एकठाउँबाट त यसरी ढुङ्गाले उछिट्टायो की झन्डै बाईकसँगै म र कमल नै……, तल हेरेको ठूलो भिर रहेछ सातो नै लग्यो । एकछिन बाईक रोकेर सास हलुका पाएपछि हिड्यौ । पानी आफ्नै रफ्तारमा आईरहेको थियो जंगल भएकाले कतै ओत वस्ने कुरा पनि थिएन त्यसैले हामी पनि पानीलाई वेवास्ता गर्दै आफ्नै रफ्तारमा बेनीतिर हुइकियौ ।

(२०७७÷१÷२ । २०७५ भदौ २५ गते बानपा–१० बागलुङ भकुण्डेको यात्रा पछि)

Leave a Reply

Scroll to Top
%d bloggers like this: