बरेङ गाउंपालिकाको फरक अभ्यास, अध्यक्ष कृष्णप्रसाद शर्माद्धारा कोरोनाको जोखिम न्यूनिकरण र व्यवस्थापनका सन्दर्भमा गरिएको विशेष सम्वोधन

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु,

विकास निर्माण र जनताको दैनिक प्रशासनिक सेवामा व्यस्त रहनुपर्ने स्थानीय सरकारको भूमिका यतिवेला फेरिएको छ । यस्तो परिवर्तित सन्दर्भमा परिवर्तित भूमिकामा म स्थानीय सरकारको प्रमुखको हैसियतले आज म जनस्वास्थ्यको बारेमा विमर्श गर्न तपाईहरुसामु उपस्थिति भएको छु । अहिले यतिखेर कोरोना भाइरसको महामारीबाट उत्पन्न जटिल अवस्थाको कारण सिङ्गो विश्व,इतिहासकै सर्वाधिक कठिन मोडबाट गुज्रिरहेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार  हालसम्म विश्वमा करिव साढे सात लाख जना कोरोना भाइरसबाट संक्रमित भएका,छत्तिस हजार  जना भन्दा बढीको कोरोना भाइरसका कारण मृत्यु भै सकेको र नेपालमा समेत ५ जना नेपाली नागरिकलाई कोरोना भाइरसबाट संक्रमण भएको तथ्यांक उजागर भै सकेको छ । यस्तो गणितीय तथ्यांकबाट नेपाल लगायत विश्वका अधिकांश मुलुकहरु यस महामारीको सङ्क्रमणबाट आक्रान्त भएको पुष्टि हुन्छ ।

यस्तो अप्ठ्यारो घडीमा वरेङ गाउंपालिका नेपाल सरकार,प्रदेश सरकार र स्थानीय समुदाय,संघसंस्था तथा निजी क्षेत्रसंग सहयोग,समन्वय र सहकार्यलाई प्रर्वधन गर्दै जनसहभागिता,उत्तरदायित्व,पारदर्शिता  सुनिश्चित गरी सुलभ र गुणस्तरीय अत्यावश्यक सेवा प्रवाह गर्न प्रतिवद्ध र संवेदनशील छ । विश्व महामारीको रुपमा सल्किएको अदृश्य शत्रु कोरोना सँग लड्न सरकार,सरोकार तथा मानव समुदाय वा देशहरुबिच सचेतना,सतर्कता,संयम,सद्भाव,सहयोग,सहकार्य र समन्वय सहितको (७ स) खाँचो टड्कारो  रुपमा देखिएको छ ।  सरकारले कोरोना विरुद्धको भाषण र आश्वासन भन्दा एक्सनलाई प्राथमिकतामा राखेको छ र वर्तमानमा कोरोनाको उपचार असम्भव भए पनि रोकथाम सम्भव छ भन्ने कुरामा स्पष्ट र प्रतिवद्ध छ । यस्तो अवस्थामा गाउंपालिकामा भित्रिएका नागरिकहरुको तथ्यांक लिएर मात्रै हुँदैन यसका लागि विशेष सतर्कता र चलाखी अपनाउनुपर्दछ भन्ने मान्यतामा वरेङ गाउंपालिका सदैव सचेत र सजग रहेको कुरा यहाँहरु समक्ष जानकारी गराउँछु ।

 

नेपालमा हालसम्म पाँच जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भै सकेको छ । त्यसरी पुष्टि भएका सबै जना नेपालमा नै बसको नभई विभिन्न देशमा बस्दै आएका र हालै मात्रै नेपाल फर्किएका हुन् । नेपालमा नै बसिरहेका कसैलाई पनि हालसम्म कोरोना भाइरस संक्रमणको पुष्टि नदेखिनु आफैंमा खुसीको विषय हो ।तर लकडाउन गर्नुअघि र अन्तर्राष्ट्रिय विमानस्थल बन्द गर्नुभन्दा अघि २२ दिनको अवधिमा मात्रै ८० हजारभन्दा बढी नेपाली विभिन्न देशबाट स्वदेश फर्केका छन् । हाम्रा लागि स्वेदश फर्केका आफ्नै दाजुभाइ दिदीवहिनीहरु नै  सबैभन्दा ठूलो चुनौति देखिएको छ ।यस्तो संक्रमणकालीन अवस्थामा हामी सवैको सामु चुनौतीको पहाड खडा भै सकेकाले विकसित मुलुकहरुबाट अवलम्वन गरेका असल र नविनतम अभ्यासबाट पाठ सिक्दै कार्यान्वयनस्तरमा खरो ढंगबाट लाग्नु नितान्त जरुरी भै सकेको छ ।

नागरिकको स्वास्थ्य, खाद्य,उपभोक्ता, सामाजिक सुरक्षालगायत नेपालको संविधानले प्रत्याभूत गरेको मौलिक हकको प्रचलन गराई स्थानीय सरकारको अनुभूति दिलाउन र नागरिकको मनोवल बढाउने कार्यलाई हामीले सधैं उच्च प्राथमिकतामा राखेका छौं । कोरोना भाइरस सङ्क्रमणको सम्भावित जोखिम र यसबाट उत्पन्न हुनसक्ने प्रभावका बारेमा चिन्तित रहेकाले प्रारम्भदेखि नै स्पष्ट कार्ययोजना बनाई काम गर्न सिंगो गाउंपालिका लागि परेको छ ।देशमा सङ्क्रमण भित्रिन नदिने,सचेतना जगाउने,निगरानी र क्वारेन्टाइनको प्रबन्ध मिलाउने र सङ्क्रमितको उपचारको व्यवस्था मिलाउने रणनीति लिई हाम्रो सरकारले शुरुको अवस्थाबाट नै विशेष तयारी गर्दै आएको छ । यस क्रममा गाउंकार्यपालिकाको वैठक बाट प्रारम्भिक चरणमा  रु दश लाख रुपैंया रकम कोरोना भाइरसको जोखिम न्यूनिकरण तथा व्यवस्थापनमा लगानी गर्ने निर्णय भै सकेको व्यहोरा जानकारी गराउद्छु र  आवश्यकता अनुसार थप वजेटको आवश्यक प्रवन्ध मिलाईनेछ ।

गाउंपालिका स्तरमा मेरो नेतृत्वमा गाउंपालिकास्तरीय र वडाअध्यक्षहरुको संयोजकत्वमा वडास्तरीय कोरोना समन्वय समिति तथा प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा जनस्वास्थ्य आपतकालीन उपसमिति र स्वास्थ्यकर्मी रहने गरी द्रुत प्रतिकार्य टोली (RRT) समेत गठन गरी कोरोना सम्वन्धी समस्या समाधानको नीतिगत नेतृत्व गर्ने व्यवस्था गरी सकिएको छ ।  यिनै संयन्त्रमार्फत गाउंपालिका भित्र र जिल्ला स्तर तथा प्रदेश र संघीय सरकार संग आवश्यक समन्वय गरी आफ्ना प्रयासहरु एकीकृत ढङ्गबाट अगाडि बढाउंदै लगिएको  छ ।

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु,

COVID-19 ले विश्वव्यापी महामारीको रुप लिइरहेको र नेपाल समेत उच्च जोखिम मुलुकको रुपमा रहेको त्यसमा पनि वागलुङ जिल्ला वैदेशिक रोजगारको सिलसिलामा विदेशिने नागरिकहरुको संख्याका दृष्टीले समेत अग्रपंक्तिमा रहेको वर्तमान परिवेशमा यसको रोकथाम,नियन्त्रण,उपचार लगायतको कार्यमा बरेङ गाउंपालिका सुरुदेखि नै क्रियाशील रहिरहेको छ । तथापी महामारीसंग जुध्न सजिलो छैन । महामारी संग जुधेर होइन महामारीलाई बुझेर अगाडि बढ्नुको विकल्प हामी संग छैन । हामीले केही समयका लागि आफ्ना व्यवहार र दैनिकीमा परिवर्तन गर्न जरुरी भएको छ । यसले जनजीवनमा केही असहजता ल्याउन सक्छ,हाम्रा आनीवानी र दैनिक व्यवहारलाई असर पार्न सक्छ । तर सम्भावित सङ्क्रमणलाई परास्त गर्न हामीसंग यसबाहेक अर्को विकल्प छैन ।यस्तो महामारीबाट सृजित संकटको घडीमा गाउंपालिकाको अध्यक्षको हैसियतले म सम्पूर्ण गाउंपालिकावासीमा विशेष आग्रह गर्दछु­-

  • सरसफाइमा उचित ध्यान दिनुहोस् साबुन पानीले पटकपटक हात धुने र स्यानिटाइजर प्रयोग गर्ने गर्नुहोस ।
  • १००.४ डिग्री फरेनहाइट भन्दा माथि ज्वरो आउने,स्वासप्रश्वासमा अत्याधिक समस्या आउने,खोकी लाग्ने जस्ता लक्षणहरु देखिएमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहोस ।
  • औषधीउपचार,खाद्यवस्तु खरिद जस्ता अत्यावश्यक काममा वाहेक सकेसम्म घरमै बस्नुहोस।
  • अत्यावश्यक वस्तुको अधिक सञ्चय नगर्नु होस् ।
  • विकास निर्माण कार्यका लागि जिल्लावाहिर तथा सिमापारीबाट सस्तो दरमा कामदार भित्र्याउने कार्य तुरुन्त रोक्नुहोस ।
  • वैदेशिक रोजगारबाट हालसालै बरेङ गाउंपालिकामा भित्रिएका नेपाली नागरिकहरुले सम्वन्धित वडा कार्यालयमा आफ्नो विस्तृत विवरण टिपोट गराउनुहोस।
  • हल्ला र अफवाहहरुबाट भ्रमित र प्रभावित नहुनुहोस् ।
  • चिकित्सक,जनस्वास्थ्य विज्ञ तथा स्वास्थ्य प्राविधिकहरुको सल्लाह पालना गर्नुहोस ।
  • धैर्यवान् हुनुहोस र संयमता अपनाउनुहोस् र
  • सावधान हुनुहोस तर आतङिकत र विचलित नहुनुहोस् ।

विश्वस्वास्थ संगठनले सङ्क्रमित मुलुकबाट नेपाल आएका सबैले आफू बच्न,आफ्नो परिवारलाई बचाउन र समुदायलाई सङ्क्रमणबाट जोगाउन कम्तीमा दुई हप्ता घरमा वा क्वारेन्टाइनमा बस्न सुझाएको छ । सवै गाउंपालिकावासीहरुले यस अप्ठ्यारो घडीमा जिम्मेवार भै सदाचार र नैतिकवानयुक्त  नागरिकको भूमिका निर्वाह गर्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु । प्रत्येक व्यक्तिको सुरक्षित र सम्मानजनक तवरले बांच्न पाउने अधिकारको सम्मान गर्दैं घर परिवारभित्र  हुने हिंसाजन्य कार्यलाई दण्डनीय बनाई त्यस्तो कार्य नियन्त्रण गर्न तथा घरेलु हिंसाबाट पीडित व्यक्तिलाई संरक्षण गरी न्याय प्रदान गर्न सिंगो गाउंपालिका परिवार र न्यायिक समिति सदैव क्रियाशील एवं सजग छ ।

सङ्क्रमणको रोकथाम,नियन्त्रण र उपचारका लागि बरेङ गाउंपालिकाले  कुनै कसर बाँकी राख्ने छैन । यसका लागि गाउंपालिका भित्रका स्वास्थ्य संस्थाहरुबाट सेवा प्रदान गर्ने,पर्याप्त औषधि र उपकरणको प्रबन्ध गर्ने,आवश्यक जनशक्तिको व्यवस्था गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखिएको छ । यस कार्यमा प्रत्यक्षरुपमा संलग्न रहने स्वास्थ्यकर्मी र सुरक्षा निकाय लगायतका जनशक्तिलाई उचित प्रोत्साहनसहित उच्च मनोबलका साथ परिचालन गर्ने व्यवस्था मिलाइएको छ ।

निजी क्षेत्र समेतको सहयोगमा खाद्यान्न लगायत अत्यावश्यक उपभोग्य सामग्रीको नियमित आपूर्ति हुने व्यवस्था मिलाइएको छ । तर अप्ठ्यारो समयको फाइदा उठाउंदै कृत्रिम अभाव सिर्जना गर्ने,जम्माखोरी तथा कालोबजारी गर्ने,खाद्यवस्तुमा मिसावट गर्ने जस्ता आपराधिक काममा कोही संलग्न भएको पाइएमा प्रचलित कानूनबमोजिम कडाभन्दा कडा कारवाही गरी कानुनी शासनको पूर्ण पालनाको वातावरण तयार गरिने स्पष्ट पार्दछु ।

तपाई हाम्रै स्वास्थ्य र सुरक्षालाई ध्यानमा राखी केही क्षेत्रमा निम्नानुसारका उपायहरु लागू गर्नुपर्ने बाध्यकारी अवस्था पनि आएको छ ।

  • कोरोना भाइरस संक्रमणको जोखिमलाई ध्यानमा राख्दै यस गाउंपालिकाले मिति २०७६ चैत्र ११ गते देखि चैत्र २५ गते सम्म अत्यावश्यक सेवा मध्येका फोहोरमैला व्यवस्थापन,विपद जन्य सेवा र स्वास्थ्य संस्थाबाट प्रदान गरिने सेवा वाहेकका अन्य सबै सेवा बन्द गरिएको छ ।
  • नेपाल सरकारले उच्च सतर्कता अपनाउंदै २०७६ चैत्र ११ गते विहान ६ बजे देखि लागू हुने गरी मुलुक भरि लकडाउन घोषणा गरेसंगै गाउंपालिका भित्र चैत्र ११ गते देखि गाउंपालिकाभर चल्ने सबै प्रकारका यात्रुवाहक सवारीसाधनहरु सञ्चालनमा रोक लगाइएको छ ।
  • गाउंपालिकाभित्र भेला हुने कार्यलाई पूर्णत निषेध गरिएको छ ।
  • विद्यालयहरुमा हुने पठनपाठनलाई हाललाई स्थगन गरिएको छ ।

यी व्यवस्थाहरुबाट गाउंपालिकाभित्र र वाहिर रहेका नेपाली दिदीबहिनी दाजुभाइहरु र अन्य यात्रुहरुलाई यथाशक्य कम असुविधा होस् भन्नेतर्फ गाउंपालिका सचेत र संवेदनशील छ । गाउंपालिका विश्वत छ कि यस्तो असहज परिस्थिति छिटो भन्दा छिटो अन्त्य भै जनजीवन सामान्य अवस्थामा पुग्नेछ । यस्तो समस्याको समाधानको अभियानमा सिङ्गो गाउंपालिका परिवार,नागरिक समाज, सबै संघ संस्था र आमसञ्चार जगतसमेत सबैलाई पारस्परिक सहयोगका साथ नेपाली राष्ट्रिय भावना प्रकट गर्न म हार्दिक आह्वान गर्दछु ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको  संक्रमण बढ्दै गईरहेको र महामारीको रुप लिदैं गईरहेको अवस्थामा हाम्रो गाउंपालिकाले पनि संक्रमणको खतराबाट बच्न विविध तयारी गरिरहेको छ ।यही सन्दर्भमा वरेङ गाउंपालिकाका सम्पूर्ण नागरिकहरुमा आफ्नो स्वास्थ्य आफ्नै हातमा  भएको व्यहोरा अवगत गराउंदै आफू पनि बच्न र अरुलाई पनि कोरोनाको संक्रमणबाट बचाउन गाउंपालिकामा उपलव्ध स्रोत,साधन तथा प्रविधिको उच्चतम उपयोगमार्फत देहायवमोजिमका कार्यहरु गरिदै आएको कुरा यहांहरुलाई जानकारी नै छ ।

  • घर भित्रै वसौं,सभ्य नागरिक बनौं। आफू बचौं,अरुलाई पनि बचाऔं अभियानका साथ self Home Quarantine मा वस्न सचेतनामूलक कार्यक्रमका रुपमा सामुदायिक रेडियो विहानी संगको सहकार्यमा रेडियो कार्यक्रम कोभिड-१९ विशेष  संचालन गरीएको छ ।
  • कोरोना भाइरसको जोखिम न्यूनिकरण तथा व्यवस्थापन गर्न तेस्रो मुलुक र भारतबाट वरेङ गाउंपालिका आएका व्यक्तिहरुको स्वास्थ्य सम्वन्धी विवरणसहितको अभिलेख प्रत्येक दिन वडागत रुपमा अध्यावधिक गरी उचित निगरानीमा राखिएको छ । आजका मिति सम्म छिमेको राष्ट्र भारतबाट ५२ जना र अन्य मुलुकबाट ४ जना गरी जम्मा ५६ जना जस मध्ये ४८ जना पूरुष र ८ जना महिला रहेको विवरण प्राप्त भएको छ ।
  • मिति २०७६ चैत्र ६ गतेदेखि संचालन हुने माध्यमिक शिक्षा परीक्षा/SEE स्थगन भएको सन्दर्भमा कोरोनाबाट सृजित वातारण सामान्य भएपश्चात SEE लक्षित विद्यार्थीका लागि गाउंपालिकाको आर्थिक सहयोगमा निःशुल्क पुर्नताजकीकरण कक्षा संचालन  गरिनेछ।साथै गाउंपालिकाको भविष्यका कर्णधार सवै विद्यार्थीभाइवहिनीहरुमा हातमा तागत र हृदयमा साहस भरेर वस्न र घरमा नै अध्ययन कार्यमा लाग्न समेत विशेष अनुरोध गर्दछु ।
  • हालको स्थितिमा रोजगारीको अभावमा दैनिक गुजारा चलाउन नसक्ने व्यक्तिहरुको लगत संकलन गरी वडास्तरीय समन्वय समिति मार्फत सहयोग स्वरुप न्यूनतम दैनिक उपभोग्य वस्तुहरुको प्याकेज उपलव्ध गराइनेछ र सहयोगका लागि उक्त प्याकेज बनाउंदा ४ जना सम्म सदस्य भएको परिवार र ४  जना भन्दा बढी सदस्य भएको  परिवारलाई पुग्ने गरी २ प्रकारको मोडालिटी बनाई यथाशीघ्र राहत वितरण गरिनेछ ।
  • उपभोग्य वस्तुको विक्री वितरण केन्द्र तथा स्वास्थ्य सेवा प्रदायक निकायमा न्यूनतम १ मिटर दुरी कायम गरी रेखाङ्कन कार्य वरेङ बजारबाट शुरुवात भै सकेको छ ।
  • सम्पूर्ण वरेङगाउंपालिकावासीले लकडाउन तथा निषेधाज्ञाको पूर्ण पालना गर्ने,गराउने र उक्त अवधिभर आपसी भेटघाट,भोजभतेर,खेलकुद,सामुहिक कामकाज(सामुहिक मेलापात,पर्म,हुद्दा समेत ),सामुहिक मनोरञ्जन लगायतका कार्य नगर्ने,नगराउने,यी कार्य गर्ने गराउनेलाई प्रचलित कानुन बमोजिम कारवाही गर्ने,गराउने सम्वन्धी जानकारीमूलक विषयहरु संचारमाध्यम तथा वस्ती-वस्तीमा कटुवाल तथा माइकिङ मार्फत प्रेषित गरिएको छ ।
  • राष्ट्रसेवक कर्मचारी त्यसमा पनि विशेष गरी स्वास्थ्यकर्मीहरुका लागि आवश्यक सुरक्षा सामाग्रीको प्रवन्ध गरी उच्च मनोवलका साथ काम गर्ने वातावरण तयार गरीएको छ र कोरोना भाइरसको जोखिम न्यूनिकरण तथा व्यवस्थापनका लागि असार मसान्त सम्मका लागि थप ४ जना स्वास्थ्य जनशक्ति  परिचालन गर्ने कार्यपालिकाको निर्णय समेत भै सकेको छ ।
  • नेपाल सरकारले लकडाउनको घोषणा गरेता पनि यसलाई बेवास्ता गरि घर बाहिर निस्कने,चोकमा वसेर गफ गर्ने,स्थानीय प्रशासनको निर्देशन अवज्ञा गर्ने लगायतका गतिविधिहरु रोक्न वडास्तरीय समन्वय समिति क्रियाशील भै क्रमशः नागरिक स्तरबाट सरकारी निर्णयहरुको परिपालना हुंदै गएको छ । यसलाई सुखद अवसरका रुपमा लिएको छु ।
  • सर्वादय माध्यमिक विद्यालय,जनता प्राथमिक विद्यालय र अधिकांश स्वास्थ्य चौकीहरुमा क्वारेन्टाइनको प्रवन्ध गरिनुका साथै स्वास्थ्यकर्मीहरुका लागि व्यक्तिगत सुरक्षा उपकरण/PPE,मास्क,स्यानिटाइजर लगायत अन्य न्यूनतम स्वास्थ्य सुरक्षाका सामाग्रीहरुको व्यवस्थापन गरिसकिएको छ । अन्य आवश्यक स्वास्थ्य सामाग्री तथा औषधीहरु समेत आवश्यकताअनुसार क्रमश; प्रवन्ध गरिदै लगिनेछ ।
  • स्थानीय स्तरमा महामारीको पूर्वतयारी तथा प्रतिकार्य योजना,जोखिम क्षेत्रको नक्सांकन तथा पहिचान,पूर्वसूचना प्रणाली,खोज उद्धार,राहत सामग्रीको पूर्वभण्डारण,वितरण र समन्वयको कार्यलाई वस्ती स्तरदेखि नै प्रभावकारी बनाउंदै र कोरोना भाइरस संग सम्वन्धी तथ्यांक व्यवस्थापन र अध्ययन अनुसन्धानलाई समेत तिव्रता दिएको छ ।
  • आम नागरिकलाई फोहोरमैलाको स्रोतमा न्यूनीकरण,पुनःप्रयोग,प्रशोधन वा विसर्जन गरी फोहोरमैलाको व्यवस्थित तथा प्रभावकारी व्यवस्थापन गर्न तथा फोहोरमैलाबाट जनस्वास्थ्य तथा वातावरणमा पर्न सक्ने प्रतिकूल प्रभावलाई कम गरी स्वच्छ तथा स्वस्थ वातावरण कायम गर्न सम्पूर्ण गाउंपालिकावासी नागरिकहरुमा संचार माध्यम मार्फत विशेष अनुरोध गरिदैं आएका छौं ।
  • गाउंपालिकाको आयोजनामा मिति २०७६ चैत्र १० गते नै कोरोना भाइरस र माहामारी रोग नियन्त्रण तथा विपद व्यवस्थापन सम्वन्धी वृहत्त अन्तरकृया कार्यक्रम संचालन गरि सकिएको छ ।
  • जनसमुदायको सामान्य जीवन स्थितिमा खलल नहुने गरी आवश्यक सेवाहरुको अटूट सञ्चालन कायम राख्न र खाद्यवस्तुको अभावमा जीवन जोखिममा पर्ने अवस्थाबाट सुरक्षित हुने नागरिकको हकको प्रत्याभूतिका लागि आवश्यक एवं उचित व्यवस्था गर्न उचित प्रवन्ध मिलाइएको छ ।
  • जिल्ला प्रशासन कार्यालय,बागलुङको मार्गदर्शन तथा नेपाल सरकारका निर्णयहरुको प्रभावकारी ढंगबाट कार्यान्वयन गर्दै गाउंपालिका कोरोना विरुद्धको अभियानमा लागिरहेको छ । यसै क्रममा जिल्ला समन्वय समितिका प्रमुख श्री राजेन्द्र ढुंगाना ज्यूको समेत समुउपस्थितिमा गाउंपालिकाका पांच वटै वडाको स्थलगत रुपमा अध्ययन,अवलोकन गरी स्वास्थ्य चौकीहरुमा स्वास्थ्य सुरक्षाका सामाग्रीहरु उपलव्ध गराईसकिएको छ ।
  • कोरोना भाईरसको संक्रमणको कारण लाग्न सक्ने रोगबाट नागरिकहरुलाई सुरक्षित राख्न शंकास्पद व्यक्तिलाई कम्तिमा १४ देखि १७ दिनसम्म क्वारेन्टाइनमा सुरक्षित तथा सुव्यवस्थित तरिकाले राखी त्यस्ता व्यक्ति र समाज दुवैलाई सुरक्षित राख्ने कार्यमा गाउंपालिकाले आवश्यक व्यवस्था गरिसकेको छ । साथै कोभिड­-१९ बाट प्रभावित वा शंकास्पद व्यक्तिहरु देखिएमा वा विरामी भएको खबर प्राप्त भएमा तत्काल उद्धार गरी अस्पताल पुर्याउनको लागि एम्वुलेन्स तथा गाडीको उचित प्रवन्ध गरिएको छ ।
  • सर्वसाधारण नागरिकहरुमा भ्रम सिर्जना गर्ने वा त्रास फैलाउने गरी सामाजिक सञ्जाल मार्फत भ्रामक र आधारहीन समाचारहरु सम्प्रेषण गर्ने कार्यमा संलग्न व्यक्तिहरुलाई स्थानीय प्रशासन संग समन्वय गरी प्रचलित कानून बमोजिम अनुसन्धान गर्ने कार्यलाई प्राथमिकता दिंदै आएको छ ।
  • गाउंपालिकाभित्र स्थापना भै हाल क्वारेन्टाइनमा राखिएका नागरिकहरुको सुरक्षा र उचित निगरानी राख्नका लागि दैनिक ज्यालादारीमा पारिश्रमिक दिने गरी ३ जना स्वयंमसेवक र  सुरक्षाकर्मी समेत परिचालन गरि सकिएको छ ।
  • गाउंपालिका भित्र विभिन्न निर्माण कार्य सम्वन्धी कार्यहरु रोकिएको कारण कामदारको रुपमा कार्य गरिरहेका र हाल अलपत्र परेका नेपाली नागरिकहरुको लगत संकलन गरी उनीहरुलाई आफ्नो आफ्नो गृह जिल्लासम्म उद्धार गरी पुर्याइदिन स्थानीय प्रशासन र सुरक्षाकर्मीहरु संग उचित समन्वय एवं सहकार्य गरिदैं आएका छौं ।
  • पाँच वटै वडाका अध्यक्ष ज्यूहरुको विशेष अग्रसरता र वडास्तरीय समन्वय समितिको क्रियाशिलतामा भारत र अन्य मुलुकबाट सम्वन्धित वडामा भित्रिएका नागरिकहरुको लगत संकलन,दैनिक उपभोग्य वस्तु तथा सेवाको आपूर्तिमा वडावासीहरुलाई आवश्यक सहजीकरण,मास्क निर्माण गरी वितरण गरिदै आएको छ । त्यसैगरी वडाभित्र जनचेतनामूलक कार्यक्रम जस्तै फेसवुक पेज, माइकिङ तथा कोरोना भाइरस सम्वन्धि सन्देशमूलक प्रेस विज्ञप्ति जारी समेत गरिएको छ ।यस कार्यका लागि समेत वडास्तरीय समन्वय समितिलाई विशेष धन्यवाद प्रकट गर्दछु ।
  • विश्व स्वास्थ्य संगठनका प्रमुख टेद्रोसले भनेका छन् यो कोभिड­-१९ रोगको विश्वव्यापी विकास एकतर्फी बाटो जस्तो होइन र यसका विरुद्ध काम गर्नुवाहेक अरु कुनै विकल्प नै छैन। त्यसैले यसको नियन्त्रण गर्न गाउंपालिकाले सम्पूर्ण शक्ति र स्रोतको पूर्ण लगानी गरेको छ र गरिरहनेछ । यस कार्यमा आम नागरिक, बैंक तथा वित्तिय संस्थासमेतबाट हामीलाई प्राप्त सहयोगको सदासर्वदा सम्मान एवं स्मरण गरिरहनेछु,र सदैव सकारात्मक सुझावको अपेक्षा समेत राख्दछु ।

 

कोरोना भाइरसको महामारीका कारण ठूलो संख्यामा वरेङ गाउंपालिका वाहिर बसोवास गर्दै आउनुभएका गाउंपालिकावासी  नागरिकहरु आफ्नो  गाउंपालिकामा फर्कन  केही असुविधा परेको हाम्रो जानकारीमा छ । यसै क्रममा हामीले पाल्पा क्वारेन्टाइनमा रहेका ४ जना दाजुभाइहरुलाई गाउंपालिकाको पूर्ण सहयोगमा गाउंपालिकामा भित्र्याइ सर्वादय माध्यमिक विद्यालयमा रहेको क्वारेन्टाइनमा राखिएको छ । यी र यस्ता प्रकृतिका कोरोना भाइरसबाट सृजित असामान्य  सबै क्रियाकलापको समन्वयात्मक र प्रभावकारी रुपमा व्यवस्थापन गरी सर्वसाधारणको जीउज्यान,सम्पत्ति र स्वतन्त्रताको संरक्षण गर्न गाउंपालिका सवै गाउंपालिकावासी संगै छ र सदैव संगै हुनेछ ।

तपाइ गाउंपालिकावासीहरुकै सहयोगमा विश्वव्यापी महामारीका रुपमा रहेको कोरोना भाइरसको सम्भावित सङ्क्रमणबाट आम जनसमुदायलाई सुरक्षित राख्न हामी सफल हुनेछौं, कोरोना भाइरसबाट संक्रमित नहुने गाउंपालिकाको सूचिमा राख्न र लेख्न सक्नेछौं ।यस उदेश्य प्राप्तिका लागि नेपाल सरकार,प्रदेश सरकार,जिल्ला समन्वय समिति तथा जिल्ला प्रशासन कार्यालयका साथसाथै  निजी क्षेत्र,संघसंस्था,छिमेकी गाउंपालिका तथा अन्य शुभेच्छुक संस्थाहरुबाट निरन्तर सहयोग प्राप्त हुनेमा गाउंपालिकाले पूर्ण विश्वास राखेको छ ।

 

अन्त्यमा,

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु,

यस अप्ठ्यारो घडीमा यस्तो महामारीको सजगता र सकृयतालाई प्रभावकारी बनाउन उपाध्याक्ष,प्रमुख प्रशासकीय अधिकृत,वडाध्यक्ष तथा वडा समितिका सदस्यहरु,संञ्चार माध्यम तथा संचारकर्मी,  गाउंपालिकामा कार्यरत सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरु, सुरक्षा निकाय, स्वास्थ्य शाखा प्रमुख तथा स्वास्थ्यकर्मी,नेपाल रेडक्रस सोसाइटी,स्थानीय समाजसेवी तथा वुद्धिजीवी,युवाक्लव,सामुदायिक संघसंस्था,महिला स्वास्थ्य स्वयंसेविका लगायत अन्य स्वयंसेवकहरुको विपद्को घडीमा गरेको कार्यकुशलता तथा पेशागत आचरण र कर्तव्यपालना प्रति उच्च प्रशंसा एवं धन्यवाद दिन चाहान्छु ।यस्तो अवस्थामा  सिङ्गो मुलुकले हामी सवैको दृढ इच्छाशक्ति र उच्च मनोबलको माग गरेको छ । हाम्रो इच्छाशक्ति,उच्च मनोवल र आपसी एकताले कोरोना भाइरसको महामारीलाई पराजित गर्न र अघि बढ्न निर्णायक भूमिका खेल्नेछ त्यसैले यस्तो अवस्थामा दृढता सहित सम्पूर्ण देशवासी तथा गाउंपालिकावासीहरुबाट पूर्ण सहयोग र साथ दिनुहुनेछ भन्ने विश्वास लिएका छौं ।

विदेशबाट यस गाउंपालिका भित्रिएका र कोरोना संक्रमणको लक्षण देखिएका सवै नागरिकहरु अनिवार्य रुपमा गाउंपालिकाले तोकेको क्वारेन्टाइनमा कम्तिमा दुई हप्ता बसौं र यो कोरोना भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्ने भएकाले नेपाल सरकारले निर्धारण गरेको लगडाउनको अवधिभरका लागि घरमा नै वसौं । आफू पनि बांचौं अरुलाई पनि बचाऔं ।

बरेङ गाउंपालिका

बरेङ गाउंपालिकावासी

 

धन्यवाद!!!

Leave a Reply

Scroll to Top
%d bloggers like this: