अत्यावश्यक सामग्री र थप सजगताको आवश्यकता

बेनी, १३ चैत । विश्वव्यापी महामारी (पेन्डामिक) बनेको कोभिड– १९ भाइरस संक्रमणको उच्च जोखिममा रहेको नेपालमा सरकारले केही तयारी र सजगता अपनाउने प्रयास स्वरुप चैत ११ गतेदेखि १८ गतेसम्मलाई देशभर लकडाउन गरेको छ । सर्वसाधारणलाई घरबाहिर ननिस्कन र आवत जावत बन्द गराउन लकडाउन गरेको हो । म्याग्दीमा लकडाउनलाई प्रभावकारी बनाउन स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । मुख्य नाका र बजार क्षेत्रमा जनपद तथा सशस्त्र प्रहरीको साथमा सैनिक समेत परिचालन भएका छन् । निषेधाज्ञा र लकडाउनको महत्व बुझेपछि सर्वसाधारण सचेत भएर घर बाहिर निस्कीएका छैनन् । अति आवश्यक काम बाहेक सर्वसाधारण घरमै बसेर सतर्कता अपनाएका छन् । तर स्वास्थ्य क्षेत्रको तयारी भने सुस्त देखिएको छ ।
सबैजसो स्थानीय तहले क्वारेन्टाइन र सदरमुकाम बेनीमा आइसोलेशन सहितको अस्थाई अस्पताल बनाइएको छ । बेनी अस्पतालले ज्वरोका बिरामीको स्वास्थ्य परिक्षण गराउन छुट्टै कक्ष बनाएको छ । नाकाका चेकपोष्टमा बसेका सुरक्षाकर्मीसंग थर्मल गन बाहेक स्वास्थ्य उपकरण छैन् । उनिहरु आफै स्वास्थ्य सेवासंग सम्बन्धित होइनन् । ९ ठाउँमा चेकपोष्ट राख्ने निर्णय भएपनि कार्यान्वयन भएको छैन् । अस्पताल र स्वास्थ्य संस्थाका चिकित्सक तथा स्वास्थ्यकर्मी देखि बिरामी बोक्न प्रयोग हुने एम्बुलेन्स चालकका लागि अहिलेसम्म व्यक्तिगत सुरक्षाका सामग्रीको व्यवस्था हुन सकेको छैन् । बेनी अस्पतालले १८ सेट सामग्री ल्याएपनि त्यो पर्याप्त नभएको चिकित्सकले बताएका छन् । बिरामी बोक्ने एम्बुलेन्सका चालक, उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी र कुरुवाका लागि सुरक्षाका सामग्रीको आवश्यकता पर्छ । ज्यान जोखिममा पारेर काममा लगाउदा मानवअधिकारसंग जोडिएको मुद्दा बन्न सक्छ ।

अहिलेसम्म म्याग्दीमा कोरोना रोकथामका लागि भएको प्रयास सकारात्म देखिएपनि स्वास्थ्य संस्था र अस्पतालको तयारी पर्याप्त तथा प्रभावकारी देखिँदैन । अहिलेसम्म भाइरस पोजिटिभ नभए पनि ढुक्क हुने अवस्था भने छैन । स्वास्थ्य तथा भौतिक पूर्वाधार अति कम भएको मुलुकमा विश्व महामारीबाट आफ्ना नागरिकको सुरक्षा गर्नु कम्ता चुनौतीपूर्ण छैन । जिल्ला स्तरमै कोरोना जाँच गर्ने किटको आवश्यकता छ । यहा महामारी र विपद्को समयमा गरिब, विपन्नको नाममा समाजसेवी बन्नेहरुको कुनै कमी छैन् । कोरोनाको त्रासले ज्वरो र रुघाखोकीका बिरामीले एम्बुलेन्स सेवा नपाउने अवस्था आएको छ । स्वास्थ्यकर्मी त्यस्ता बिरामी आए भने भाग्नुपर्ने अवस्था छ । तर केही मानिसहरु गरिब विपन्नको नाममा खाद्यान्न बाडेर समाजसेवीको खोल ओड्ने ध्याउन्नमा लागेको पाइन्छ । यो बुझ्न आवश्यक छ की यो अन्य सामान्य अवस्थाको विपद् होइन् । यो विपद्संग जुध्नका लागि सबैभन्दा पहिले स्वास्थ्य सुरक्षाको व्यवस्थापनमा स्थानीय तह, सहयोगदाता र सरोकारवालाहरुको तत्काल ध्यान जाओस् । बेनी अस्पताल, दरवाङ प्राथमिक स्वास्थ्य केन्द्र र पालिका स्तरमा कोरोना फोकल पर्सन, तथा एम्बुलेन्स चालकका लागि अति आवश्यक व्यक्तिगत सुरक्षाको सामग्री व्यवस्थापन गर्न ढिलाई नगरौ ।

२०७६ चैत १३ गतेको रिखार दैनिकको सम्पादकीय

Leave a Reply

Scroll to Top
%d bloggers like this: