त्रसित नबनौ, भ्रममा नपरौ

बेनी, ९ चैत । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) नेपालमा अहिलेसम्म भित्रिएको छैन् । यो हामी नेपालीका लागि सौभाग्य हो । कोरोनाको उच्च जोखिममा रहेको नेपालमा भाइरसले भन्दा पनि भ्रम र त्रासले महामारीनै भित्रिए जसरी आतंक मच्चाएको छ । सामाजिक सञ्जालको (फेक न्युज)ले नेपालीमा त्रास सिर्जना गरेको छ । शनिबार दिनभर काठमाडौमा कोरोना संक्रमित भेटिएको र राती सैनिक बिमानले भाइरस विरुद्धको रसायन छर्केने भनेर सामाजिक सञ्जालमा भ्रमपूर्ण तथ्य हिन समाचार सार्वजनिक भए । सामाजिक सञ्जाल सम्बन्धी चेतना कम भएका यसका प्रयोगकर्ता देखि शिक्षित समुदाय पनि यो भ्रमपूर्ण समाचार फैलाउन सहयोगी बने । अन्तत् दिउँसो सम्बद्ध अस्पताल र नेपाली सेनाले विज्ञप्ति निकाले फेक समाचारको खण्डन गरेका छन् । मुलुकले कोरोना संक्रमणको भयावह त्रासबाट जोगिने उपाय खोजिरहेका बेला समाजमा आतंक मच्चाउने, त्रास फैलाउने र सर्वसाधारणलाई असुरक्षित महसुस गराउने तत्वहरू सक्रिय देखिएका छन् । सरकारले सम्भावित ठूलो खतराबाट जोगाउन ‘मिनी लक डाउन’ गरेसँगै विपत्तिलाई ‘व्यापार’ बनाउनेहरू सक्रिय भएका छन् । यस्तो बेला त्रास फैलाएर ‘आनन्द’ लिनेदेखि त्रासबीच फाइदा उठाउने तत्वहरू बेजोडले अग्रसर हुन थालेका छन् । त्यसकै प्रतिफल हुन् भ्रमात्मक सामग्री उत्पादन र प्रसार ।

नेपालमा भित्रभित्रै कोरोना संक्रमण फैलिसकेको र नियतवश सूचना लुकाइएको भन्दै केही ‘बौद्धिक’ व्यक्तिहरूकै अभिव्यक्ति सामाजिक सञ्जालमा सार्वजनिक भएका छन् । सम्भावित विपदबाट जनतालाई जोगिने उपाय सिकाउनुपर्ने शिक्षित समुदाय नै आतंक मच्चाउने काममा लाग्नु असोभनीय हो । सम्भावित जोखिमबाट त्रस्त सर्वसाधारण धैर्य टुट्न नदिने, त्यस्ता जोखिमबाट बच्ने उपाय सिकाउने र सरकारलाई उचित पहलका लागि घच्घच्याउने समय हो यो । संसारै ठप्प बनाइरहेको कोरोना भाइरससँग मिलेर लड्ने उपाय खोज्ने समय हो । तर, यसलाई सामाजिक आतंकको विषय बनाउनु दुःखद छ । छिमेकी देशमा कोरोनाको संक्रमण फैलिएको समाचारलगत्तै देशमा खाद्यान्न, ग्यास, तेलदेखि मास्कको कृत्रिम अभाव सिर्जना गरेर रातारात धनी बन्न खोज्नेहरू सक्रिय भएकै छन् । देशै अप्ठ्यारोमा परेका बेला कृत्रिम अभाव सिर्जना गरेर कमाउन पल्केकाहरूमाथि सरकार कठोर बन्नैपर्छ । समाजमा अफवाह फैलाउनेप्रति पनि कडा कानुनी उपचार खोज्नैपर्छ । सरकारले यस्तो बेला सामाजिक सञ्जालदेखि सञ्चार जगतमा ध्यान दिएर अफवाह फैलाउने तत्वमाथि सूक्ष्म निगरानी राख्नैपर्छ । रूपमा डरलाग्दो रूपमा फैलिइरहेको कोरोना संक्रमण र मानवीय क्षतिले आम जनतामा त्रास फैलिरहेका बेला सामाजिक सञ्जालमा हुने ‘फेक’ प्रचारबाजी पनि सत्यजस्तै लाग्न थाल्छन् र जनतामा थप त्रास फैलिन सक्छ ।

नेपालका लागि यतिबेला धैर्य र सचेतनाको खाँचो छ । सम्भावित जोखिम भित्रिन नदिन सर्वसाधारणलाई सचेत गराउने, सुरक्षाका उपाय अपनाउने र सामूहिक रूपमा महाविपत्तिको सामनाका लागि आम जनतालाई तयार गर्नुपर्छ । यसमा सरकारको एकल प्रयास मात्र पर्याप्त हुदैन् । समाजका सबै वर्ग, क्षेत्र र समुदायले सामूहिक रूपमा मुलुकलाई सम्भावित महाविपत्तिबाट जोगाउन साथ दिन आवश्यक छ । विपद्को बेला एकजुट हुने नेपाली समाजको विशिष्टकृत पहिचान र सहयोगी भावना फेरी पलायो भने महाविपत्तिमा जनताले सहजै मुक्ति पाएको महशुस गर्न सक्छन् । कोरोना भाइरस मानव जातिका लागि विषाक्त छ, त्यो भन्दा बढी खतरा समाजमा अफवाह फैलाएर स्वार्थ लुट्ने र रमिता हेर्नेहरुबाट छ । अनावश्यक अफवाह फैलाएर कृतिम अभाव सिर्जना र कालोबजारी गर्ने तत्व सक्रिय बन्न थालेको छ । त्यसैले सरकारका निकाय भ्रम फैलाएर भय सिर्जना गराउने अनी स्वार्थ लुट्न खोज्नेहरुप्रति कठोर बन्नुपर्छ । समाजले पनि त्यस्ता गलत क्रियाकलाप गर्नेहरुको सूचना राज्यलाई दिएर सहयोग गर्नुपर्छ । अनी सामाजिक सञ्जाल भन्दा पनि आधिकारिक सञ्चार माध्यमहरुको सूचनालाई आधार मानेर धारणा बनाउने र सचेतना फैलाउन, सतर्कता अपनाउन नागरिकहरुले ध्यान दिनुपर्छ ।

रिखार दैनिक पत्रिकाको चैत ९ गतेको सम्पादकीय

Leave a Reply

Scroll to Top
%d bloggers like this: