चैत १० देखि २९ सम्म म्याग्दीमा दादुरा रुवेला खोप अभियान हुने, परिवार नियोजन शिविर स्थगित

म्याग्दी, ८ चैत ः राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत यही चैत १० देखि २९ गतेसम्म म्याग्दीमा दादुरा–रुवेला रोगविरुद्ध खोप अभियान सञ्चालन हुने भएको छ ।

स्वास्थ्य कार्यालय म्याग्दीले शनिबार एक कार्यक्रमको आयोजना गरेर दुई चरणमा नौ महिना देखि ५ वर्ष सम्मका नौ हजा ३५२ जना बालबालिकालाई सो रोगका विरुद्ध खोप दिने लक्ष्य राखिएको जानकारी गराएको छ ।

चैत १० देखि १८ गतेसम्म धवलागिरी, मालिका र मंगला गाउपालिकाका सबै वडामा र चैत २१ देखि २९ गतेसम्म बेनी नगरपालिका, रघुगंगा र अन्नपूर्ण गाउपालिकाका वडामा खोप कार्यक्रम सञ्चालन हुने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख एकनारायण लम्सालले जानकारी दिनुभयो ।

खोप अभियानमा ३६५ वटा खोप केन्द्रमा ७४० जना खोपकर्ता परिचालन हुनेछन् । अभियानको क्रममा खोप कार्यकर्तालाई तालिम, महिला स्वास्थ्य स्वयंसेविका, वडाका जनप्रतिनिधिलाई अभिमुखीकरण र हरेक लक्षित बालबालिका भएका घरमा निमन्त्रणा गरिने उहाँले बताउनुभयो ।

“अभियानलाई सफल बनाउन र कोही पनि खोपबाट बञ्चित हुनुनपर्ने गरी कार्यक्रम सञ्चालनका लागि प्रदेश, जिल्ला, नगरपालिका, गाउँपालिका तथा वडास्तरमा समेत खोप समन्वय समिति गठन गरिएको छ । यो अभियानमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी सबै तयारी अवस्थामा रहेका छौँ”, प्रमुख लम्सालले भन्नुभयो ।

जिल्लामा खोप कार्यक्रमलाई प्रभावकारी बनाउन तथा खोपपछि बालबालिकामा देखिने समस्यालाई समाधान गर्न बेनी अस्पतालका चिकित्सक नवराज बस्ताकोटी र दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रका चिकित्सक तिलक गौतमको संयोजकत्वमा दुई वटा भेगमा फरक फरक टोली गठन गरिएको छ ।

प्रत्येक खोप केन्द्रमा सो टोलीको विवरण पु¥याइने भएकाले खोपपछि आउनसक्ने समस्या प्रभावकारी ढङ्गले समाधान गरिने स्वास्थ्य कार्यालयले जनाएको छ । दादुरा रुवेला रोगविरुद्ध खोपको पहुँच देशभरमा ९५ प्रतिशतभन्दा माथि भएको सुनिश्चित हुनुपर्ने साथै अभियानको अवसरमा नियमित खोपको समेत सुदृढीकरण गर्ने लक्ष्य रहेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ध्रुब गिरिले बताउनुभयो ।

नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०१६ का अनुसार देशका २१ प्रतिशत बालबालिका अझै पनि पूर्ण खोपबाट बञ्चित रहेको र एक प्रतिशत बालबालिकामामा खोप पुग्न नसकेको (शून्य डोज) सकेको छैन । नेपालमा विसं २०३४ मा विफर उन्मूलनपछि खोप थपिदै जाने क्रममा हाल ११ वटा खोप सञ्चालनमा रहेको छ ।

बाल मृत्युको कारणमध्ये दादुरासमेत एक भएकाले यसबाट बालबालिकालाई बचाउन सरकारले उच्च प्राथमिकता साथ खोप कार्यक्रम सञ्चालन गर्दै आएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्राथमिकता कार्यक्रमभित्र खोप कार्यक्रम रहेको छ ।

सन् २०२३ भित्रमा नेपालबाट दादुरा–रुवेला निवारणको राष्ट्रिय प्रतिबद्धता रहेकाले अभियानको रूपमा खोप कार्यक्रम शुरु गर्न लागिएको हो । देशका केही प्रदेशमा भने अभियान सम्पन्न भइसकेको छ । वि.सं २०७२ मा म्याग्दी र २०७५ भदौमा गण्डकी प्रदेशलाई पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा गरिएको थियो ।

यसैबीच स्वास्थ्य कार्यालय म्याग्दीले सञ्चालन गरेको स्थाई परिवार नियोजन स्वास्थ्य शिविर कोरोना भाइरसको त्रासका कारण स्थगित भएको छ । सामाजिक विकास मन्त्रालयमा शनिबार बसेको बैठकको निर्णय अनुसार शिविर स्थगित गरिएको कार्यालयका परिवार नियोजन सुपरिवेक्षक नारायणप्रसाद रेग्मीले बताउनुभयो ।

धवलागिरी गाउपालिकाको ताकम र मालिका गाउपालिकाको दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा शुक्रबार भ्यासेक्टोमी र मिनिल्याप शिविर सम्पन्न भइसकेको छ । चैत ९ गते अर्मन स्वास्थ्य चौकी, ११ गते बेनी अस्पताल र १३ गते भुरुङ तातोपानी स्वास्थ्य चौकीमा शिविर आयोजना गरिएको थियो ।

स्थगित भएको परिवार नियोजन स्वास्थ्य शिविर कोरोना भाइसरको त्रास हटेपछि सञ्चालन गरिने स्वास्थ्य कार्यालयले जनाएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: