सतर्कता अपनाऔ

विश्व ब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथामका लागि नेपाल सरकारले ‘लक डाउन’को पूर्वअभ्यास सहित उच्च सतर्कता अपनाएको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोरोना संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबारको बैठकले स्कूल, कलेज, सिनेमा हल बन्द गर्नेदेखि लिएर उडानमार्फत हुने आगमनमा समेत प्रतिबन्ध लगाउने निर्णय गरेको छ । सगै बिहीबार देखि सुरु हुन लागेको माद्यामिक शिक्षा परीक्षा (एसईई) समेत स्थगीत भएको छ । एसईई स्थगित भएसँगै चार लाख ८२ हजार परीक्षार्थी प्रभावित भएका छन् । एसईईमा प्रदेश अनुसार फरकफरक प्रश्नपत्र छापिएको थियो । चैत ६ गतेदेखि तोकिएको परीक्षा अर्को निर्णय नभएसम्मका निम्ति स्थगित भएको विषयमा पक्ष र विपक्षमा बहस चलेको छ । अन्तिम अवस्थामा निर्णय गर्दा परिक्षा केन्द्रमा पुगिसकेका विद्यार्थी र अभिभावकलाई मर्का परेपनि स्वास्थ्य संवेदनशिलता र गम्भिरतालाई विश्लेषण गरेर सरकारले चालेको कदमलाई स्वागत र सहयोग गर्नुपर्छ ।
सरकारले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि युरोपेली, पश्चिम एसियाली, खाडी क्षेत्रका मुलुक, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया र जापान लगायत कोरोना भाइरसको संक्रमण फैलिएका सबै मुलुकका नागरिकलाई नेपाल प्रवेशमा प्रतिबन्ध लगाएको छ । कोरोना भाइरसको संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले शुक्रबार (मार्च २०) देखि वैशाख ३ (अप्रिल १५) सम्म संक्रमण फैलिएका मुलुकका नागरिकलाई नेपाल प्रवेश गर्न प्रतिबन्ध लगाएको हो । सरकारले प्रतिबन्ध लगाए बाहेकका विदेशी नागरिकले नेपाल प्रवेश गर्न खोजे उनीहरुले एक साता अघिको स्वास्थ्य प्रमाणपत्र अनिवार्य रुपमा बुझाउनु पर्ने छ । चीनको वुहानबाट सुरु भएको कोरोना भाइसरको संक्रमण विश्वव्यापी रुपमा फैलिरहेको छ । युरोपेली मुलुकमा सबैभन्दा बढी इटालीले कोरोना भाइरसको संक्रमण भोगिरहेको छ । विश्व स्वास्थ्य संगठनले विश्वका जुनसुकै मुलुकममा जतिबेला पनि कोरोना संक्रमण फैलिन सक्ने भन्दै सावधानी अपनाउन अपिल गरेको छ ।
सरकारले कोरोना फैलिन नदिन अत्यावश्यक कामका बाहेक आवतजावत गर्न रोक लगाएको छ । बैठकको निर्णय अनुसार अब सार्वजनिकस्थलमा २५ जना भन्दा बढी मानिस भेला नपाइने भएको छ । ‘सांस्कृतिक, सामाजिक र त्यस्तै कार्यमा पार्टी प्यालेस, मठमन्दिर, गुम्बा, मस्जिद, चर्च जस्ता धार्मिक र सार्वजनिकस्थलमा २५ जना भन्दा बढी मानिस भेला हुन बन्द हुनेछ’ विज्ञप्तिमा भनिएको छ । उक्त अनुगमन गृहमन्त्रालय एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गर्ने बताइएको छ । चैत मसान्तसम्म सबै विद्यालय र कलेज बन्द गर्ने निर्णय भएको छ । सरकारले कारोनाको विषयमा भ्रम फैलाउने र सामान लुकाउनेलाई कारबाही गर्नेलगायत विभिन्न १५ बुँदे निर्णय गरेको हो । सार्वजनिक सवारीमा सिट क्षमता भन्दा बढी यात्रु ओसारपसार नगर्न अनुरोध गर्दै यसको अनुगमनको जिम्मा नेपाल प्रहरीलाई दिइएको छ । यातायातका साधन चलाउनुअघि प्रत्यके दिन दिन समय–समयमा सवारीसाधनलाई किटाणु निर्मलीकरण गर्न लगाउने सरकारको निर्णयमा उल्लेख छ । यसको अनुगमन यातायात व्यवस्था विभाग र प्रहरीले गर्नेछ । सरकारले सञ्चार माध्यम र सामाजिक सञ्जालबाट गलत अभिव्यक्ति दिएमा कानुन बमोजिम कारबाही गर्ने निर्णयसमेत गरेको छ । आजसम्म कोरोना भाइरसको संक्रमण नभएको भनिएको नेपालमा सरकारले ‘लक डाउन’ कै संकेत हुनेगरी गरेको निर्णयलाई संवेदनशिल रुपमा लिएर व्यक्तिगत रुपमा समेत सतर्कता अपनाउनुपर्ने अवस्था देखिन्छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: