हिमालको सम्मुख टोड्केमा होलीको रौनक (फोटो फिचर)

टोड्के, २६ फागुन । म्याग्दीको रघुगंगा, मंगला गाउपालिका र बेनी नगरपालिकाको सिमा क्षेत्रमा पर्ने पर्यटकीय स्थल टोड्केमा सोमबार फागु पूर्णिमा (होली) को रौनक छायो । फागु पूर्णिमा पर्वको अवसरमा प्राकृतिक सौन्दर्यतासँगै होली खेलेर रमाइलो गरेका थिए ।

टोड्के हिल रिर्साेट तथा होमस्टे प्रा.ली.ले तारोखेल प्रतियोगिता तथा साँस्कृतिक कार्यक्रमको आयोजना गरेको थियो । सदरमुकाम बेनी लगायत देशका धेरै बजार क्षेत्रमा कोरोना भाइरसको त्रासका कारण होली खल्लो बनेपनि टोड्केमा होली मनाउनेहरुको भने चहलपहल थियो ।
झिँ, वाखेत, पूर्णगाउँ, कुहुँ र बेनी देखि टोड्के पुगेका बयस्क देखि युवायुवतीहरु एक आपसमा रंग दलेर खुसी साटासाटका साथै तारो खेल र सांस्कृतिक कार्यक्रममा रमाएका थिए ।


संस्कृतिको जगेर्ना, स्थानीय खेल र सांस्कृतिक प्रतिभाको पहिचान तथा उनिहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले फागू पुर्णिमा बिशेष कार्यक्रमको आयोजना गरेको टोड्के हिल रिसोर्ट एण्ड होमस्टे प्रा.लीका संस्थापक भिम शेरचनले बताउनुभयो । टोड्केको पर्यटन प्रर्वद्धन गर्नुपर्ने कार्यक्रम आयोजना गर्नुको अर्को उद्देश्य भएको उहाँले बताउनुभयो । नयाँ वर्ष लगायत अवसरमा पनि यस्ता सांस्कृतिक र परम्परागत कार्यक्रम आयोजना गरिने शेरचनले बताउनुभयो ।

तारोखेल प्रतियोगितामा बेनी–१० वाखेतको समुह पहिलो र दोस्रो भएका छन् । प्रतियोगितामा प्रथम र द्धितृय हुने समुहलाई नगद १० हजार र ५ हजारको साथमा प्रमाण पत्र प्राप्त गरे । झिँ र वाखेतका चार समूहले प्रतियोगितामा सहभागिता जनाएका थिए । प्रतियोगितामा खोल हान्ने खेलाडीलाई समेत सम्मान पत्रले सम्मान गरिएको थियो । वाखेतका तारो खेलाडी तथा घार सुन्ना युवा क्लवका याम रोकाले पर्यटकीय स्थलमा फागु पूर्णिमा पर्व मनाउन पाएकोमा खुसी व्यक्त गर्नुभयो ।


कार्यक्रम आयोजनाका लागि अर्ना बियरले प्रायोजन गरेको थियो । साँझ झिँको सिद्ध युथ क्लव र आमा समूहका कलाकारहरुले गित तथा नृत्य प्रस्तुत गरेका थिए । सालैजो, कौरा, मारुनी नाचमा कलाकारसंगै सहभागिहरुले नाचेर रमाइलो गरेका थिए ।
समुन्द्रि सतहदेखि दुई हजार पाँच सय मिटर उचाइमा रहेको टोड्केको चिसोको प्रवाह नगरी राती नौ बजेसम्म दर्शकको बाक्लो उपस्थितिमा नाचगान चलेको थियो । झिँ सिरानगाउँ आमा समूह, इन्देणी आमा समूह र शिव पार्वति आमा समूहले मौलिक पहिचान झल्कने नृत्य प्रस्तुत गरेका थिए ।


यसैगरी झिँकी गायिका प्रजु विश्वकर्मा, गायक भिम घर्ती, वाखेतका भेषबहादुर पाइजा र झिका मिन थजालीले गित गाएर दर्शकलाई नचाउनुभएको थियो । सांस्कृतिक कार्यक्रमको संयोजन सिद्ध युथ क्लवले संयोजन गरेको थियो । नृत्य, गायन र तारोखेलमा सहभागिलाई कदरपत्र प्रदान गरिएको थियो ।
सुर्योदय, हिमशृङखला, गुराँसे जंगल, पहाडी भूगोलको अवलोकन गर्न टोड्केमा आउने पर्यटकलाई खानेबस्ने सुविधाका लागि गत वर्षदेखि रिसोर्ट सञ्चालन गरिएको छ । तीन वटा घर रहेको टोड्केमा यसअघि होटल तथा लजको सुविधा नहुँदा पाहुनाहरुलाई समस्या भएको थियो ।


गुराँसे जंगलको बिचमा पुर्व फर्किएको भिरालो पाखोमा समुन्द्री सतहदेखि दुई हजार ३४० मिटर उचाइमा रहेको रिसोर्टका सबै कोठाबाट धौलागिरि, अन्नपूर्ण, निलगिरि, गुर्जा, माछापुच्छ्रे लगायत १६ वटा हिमाल हेर्न सकिन्छ । झिँ, पुर्णगाउँ, डडुवाका ९ जना संस्थापकले स्थापना गरेको टोड्के हिल रिसोर्टमा हालसम्म करिब तेत्तीस जनाले सेयर लगानी गरेका छन् ।

एक वटा अति बिशिष्ट कोठा रहेको रिसोर्टमा एक वटा डाइनीङ, किचन, एक सय जना क्षमताको तालिमहल र सबै कोठामा तातोपानीको सुबिधा छ । क्याम्पिङ गर्नेहरुका लागि दश वटा टेन्टको व्यवस्था गरिएको छ । दोस्रो चरणमा विदेशी पाहुनालाई लक्षित गरेर कटेज बनाउने तयारी छ ।

६ रोपनी क्षेत्रफलमा फैलीएको रिसोर्टले थप साढे चार रोपनीमा अर्गानिक तरकारी खेति गरेको छ । रिसोर्टमा पाँच जनाले रोजगारी पाएका छन् । अर्गानिक तरकारी, लोकल कुखुरा, कालिज, हाँस र खसीको मासु, कोदो र फापरको ढिडो, सिमिको दाल, मुलाको अचार, सिन्की र गुन्द्रुक लगायत परिकारको स्वाद लिन सकिने रिसोर्टले जनाएको छ ।

धौलागिरि सेन्चुरी, चक्रीय र गुरील्ला पदमार्गको प्रवेश नाकामा अवस्थित टोड्केमा झिँ, वाखेत र पूर्णगाउँबाट सडक तथा बेनी जगन्नाथ हुदै पैदलयात्रा गरेर पुग्न सकिन्छ । टोड्केको प्रचारप्रसारका लागि टोड्के क्षेत्र विकास कोषले दुई पटक गुराँस महोत्सव सञ्चालन गरेको थियो ।


सामुदायिक भवन, खेलमैदान, पिकनिक स्पट, पदमार्ग र सार्वजनिक शौचालय निर्माण गरिएको छ । टोड्केलाई स्वर्गद्धारीको शाखा पनि मानिएकाले धार्मिक पर्यटनको समेत सम्भावना छ । स्वर्गद्धारी ऋषिले तपस्या गरेकाले शाखा भनिएका मन्दिरमा ऋणीले प्रयोग गरेका खराउ (काठका चप्पल) प्रमाणको रुपमा राखिएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: