म्याग्दीका चित्रकारहरुको टोड्केमा लाइभ पेन्टीङ

बेनी, १७ फागुन । म्याग्दीको मंगला, रघुगंगा गाउपालिका र बेनी नगरपालिकाको सिमा क्षेत्रमा अवस्थित पर्यटकीय स्थल टोड्केको प्राकृतिक सौन्दर्यता चित्रमा उतारेका छन् ।

म्याग्दीका चित्रकारहरुले नेपाल भ्रमण वर्ष २०२० को अवसर पारेर टोड्केमा पुगेर स्थलगत चित्र तयार (लाइभ पेन्टीङ) गरेका हुन् । चित्रकार अमृत श्रीपाली र सुरेन्द्र रानाको अगुवाइमा स्थलगत चित्र तयार पारिएको हो ।

पर्यटकीय स्थलको प्रचारप्रसार गर्ने उद्देश्यले लाइभ पेन्टिङ गरिएको चित्रकार श्रीपालीले बताउनुभयो । समुन्द्री सतहदेखि दुई हजार ३८० मिटरको उचाइमा अवस्थित टोड्केको अवस्था चित्रमा उतारेका छन् ।

टोड्केको पृष्ठभूमिमा देखिने हिमाल, त्यहाँको बस्ति, स्वर्गद्धारीको शाखा मन्दिर, पहाड, लालीगुराँसको जंगल, जनजिवन आदीलाई चित्रमा उतारेका हुन् । कल्पना गरेको र अरुले ब्याख्या गरेको भन्दा आफैले देखेर तयार पारिएको चित्र मौलिक र वास्तविक हुने चित्रकारहरुले बताएका छन् ।

श्रीपाली, राना, थापा, प्रेम लामा, रुपेश कार्की, भिम विश्वकर्मा लगायत ११ जना चित्रकारहरु लाइभ पेन्टीङका लागि टोड्केमा पुगेका थिए । शनिबार दिनभर चित्रकारहरुको टोली टोड्केमा बसेर चित्र तयार पारेका थिए ।

तयार पारिएका चित्रहरुलाई नयाँ वर्षको अवसरमा बेनीमा प्रर्दशनी गरिने उनिहरुले बताएका छन् । यसअघि श्रीपालीले रघुगंगा गाउपालिकाको धार्मिक स्थल भगवति कोत मन्दिर परिसरमा पनि लाइभ पेन्टीङ गर्नुभएको थियो ।

चित्रकारहरुको स्थलगत चित्र तयार पार्ने कार्यले टोड्केको पर्यटन प्रर्वद्धनमा सहयोग पुगेको टोड्के क्षेत्र विकास कोषका सचिव टेकबहादुर राम्जालीले बताउनुभयो । धौलागिरि, निलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे रेञ्जका हिमाल, सुर्योदय र पहाडी भूगोलको दृष्य अवलोकनका लागि टोड्के पर्यटकीय गन्तब्य बन्न थालेको छ ।

लालीगुरासको जंगलले घेरिएको पहाडको टाकुरामा फराकीलो फाँटमा अवस्थित टोड्केमा पर्यटन पूर्वाधार निर्माणले तिब्रता पाएको छ । पूर्णगाउँ, झिँ र वाखेत हुदै टोड्के जोड्ने सडक निर्माण भएको छ ।

स्थानीयको अगुवाईमा टोड्केमा सुबिधासम्पन्न टोड्के हिल रिसोर्ट पनि सञ्चालन भएको छ । रिसोर्ट सञ्चालन भएपछि टोड्केमा पर्यटकको आगमन बढ्न थालेको छ । टोड्के धौलागिरि सेञ्चुरी पदमार्गको प्रवेश बिन्दु हो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: